बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव राष्ट्रपतिबाट उद्घाटन हुने

  •   ३ महिना अघि | २५ माघ २०८०, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे। बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० फागुन ४ गतेबाट शुरु हुने भएको छ । कृषि महोत्सव मूल आयोजक समितिको आयोजनामा बनेपा नगरपालिका वडा नं ८ करुणामार्ग क्षेत्रमा २०८० फागुन ४ देखि ७ सम्म ४ दिन चल्ने कृषि महोत्सवको तयारी तीव्र पारिएको हो । महोत्सवमा कृषि औजारदेखि कृषि उत्पादन, प्रशोधन र बजारीकरणका विषयहरु समेटेर २०० वटा स्टलहरु राखिने छन् ।

बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव मूल आयोजक समितिका संयोजक जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले काभ्रेपलाञ्चोक जिल्ला कृषिको धेरै सम्भावना बोकेको जिल्ला भएकाले किसानको क्षेत्रमा नयाँ रक्तसञ्चार सिर्जना गर्न खोजेको बताए । 

उनले बजेट बनाउँदा कृषि र किसानलाई प्राथमीकतामा राखेर अझै पनि काम गर्न नसकेको भन्दै यो महोत्सव साच्चीकै परिणामुखी बनाउन आफु लागि परेको बताए ।

महोत्सवमा कृषिका नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्वन्धि सेमिनार, सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरुको प्रदर्शन, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर, कृषि बिमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि स्टलहरु, रैथाने परिकार, हस्तकला एवं होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु रहने छन् ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको संयोजनमा हुने महोत्सवमा बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागिता रहने छ ।

महोत्सव सञ्चालनका लागि मूल आयोजक समिति गठन लगायत अन्य विभिन्न उपसमितिहरु निर्माण गरिएका छन् । महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवमा कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको सहभागिता गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी मार्फत कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने, दर्शक–कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरुबारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका कृषकहरुलाई समेत नयाँ उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने, जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरुबीच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोबल उच्च राख्न ब्यावसायीक कृषकहरुलाई उत्कृटताको आधारमा सम्मान गर्ने योजना रहेको बताइएको छ ।

थप