बुद्धचित्तको बोट काटेको आरोपमा माला ब्यापारी मानबहादुर पक्राउ

  •   ३ हप्ता अघि | ३० चैत्र २०८०, शुक्रबार,     एक्टिभ मिडिया

बनेपा। रोशी गाउँपालिका–५ नागबेली स्थित ठाकुरानी तामाङको बारिमा रहेको बुद्धचित्त मालाको बोट काटेको आरोपमा माला ब्यापारी सिजन भनिने मानबहादुर लामा पक्राउ परेका छन् ।  उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरि अपराध अनुसन्धान महाशाखा लगेको विशेष स्रोतले पुष्टि गर्यो । प्रहरीले उनलाई पक्राउ गरेको र उनी विरुद्घ जाहेरीको तयारी भइरहेको अर्का ब्यापारी समिक त्रिपाठीले जानकारी दिए । त्रिपाठीले रुख मानबहादुरकै समूहले काटेको हुनसक्ने बताए । 

त्रिपाठी र मानबहादुर यस अघिका माला कारोबारका पार्टनर (साझेदार) हुन् । उनीहरुको अघिल्लो वर्षको माला लुटेको विषयमा परेको मुद्दा विचाराधिन छ । समिकले पैसा र माला दुबै लिएको र संझौता विपरित अर्कैलाई बेचेर रकम कुम्लयाएको मानबहादुरको आरोप थियो । त्यही रिसीबीमा मालाको रुख काटिएको हुन सक्ने अड्कलबाजी गरिए पनि यस विषयमा अहिलेसम्म थप केही खुलिसकेको छैन । 

गएराती अन्दाजी ०१ः ०० बजेको समयमा समुहमा आएका १५र२० जना अपरिचित ब्यक्तिले बुद्धचित्त मालाको रुख काटेका थिए ।  उनिहरुले सोही घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम समेत राखेको पाइएको थियो । उक्र काटिएको रुख ठकुरानी तामाङको रहेको खुलेको छ । काटिएको रुख नजिकै  जनमुक्ति सेना नेपाल लेखेको ज्याकेटसमेत फेला परेको  थियो ।  

घरधनी शेरबहादुर तामाङले  बताएअनुसार, वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रुखको माला बिक्री गरिएको थियो । सम्झौता अनुसार, विक्री भएको रुखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजाने थिए ।

उनले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताए ।  सत्यमान लामा र त्रीपाठी वर्षेनी जोडिने यो बोटको मालाका विषयमा सधै विवाद हुने गर्दथ्यो । यो बोटको मालाकै विषयले रोशी क्षेत्र बर्षेनी तनाबमा समेत पर्ने गरेको थियो । 

माला किनबेच गर्ने र एकले अर्काको रकम हिनामिना गर्ने, ठगी गर्ने, माला नै चोरी गर्ने, एउटालाई बेचेको माला अर्कोलाई पनि बेचिदिने, संझौता एउटाले गर्ने अर्कैले टिप्ने जस्ता विषय र यो बोटमा फल्ने सानो आकारको मालाको कारण यो बोट सधै काभ्रेमा चर्चाको विषय बन्थ्यो । मालाको कारोबारमा भइरहेको दुस्मनीले नै बोट काटिएको हुनसक्ने स्थानीयहरुको अनुमान छ । 
चक्रपथ अनलाइन बाट साभार...

थप