पेट्रोल को मुल्य अहिलेसम्मकै महङ्गो 

  •   २ वर्ष अघि | १८ माघ २०७८, मङ्लबार,    

काठमाडौं । निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ । यो मूल्य इतिहासकै उच्च हो ।३० फागुन ०७० मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलका भाउ प्रतिब्यारेल एक सय सात डलरआसपास थियो । तर, डलरको विनिमय दर भने अहिलेको तुलनामा धेरै कम थियो । जसकारण कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य धेरै भए पनि डलरको सटही दर कम भई नेपालमा मूल्यवृद्धिको ठूलो असर परेको थिएन । निगमले बिस्तारै मूल्य घटाउँदै गरेको थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेका कारण नेपाली बजारमा मूल्य समायोजन गर्नुपरेको निगमको तर्क छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेर सोमबार ९१.२१ डलर प्रतिबिन्दुसम्म पुग्यो । मंगलबार साँझ भने ८८.६१ डलर प्रतिब्यारेलमा झरेको छ ।यसअघि ३० फागुन ०७० मा कायम पेट्रोलको मूल्य मंगलबारसम्म सबैभन्दा बढी थियो । त्यतिवेला एक सय ४० रुपैयाँ कायम गरिएको पेट्रोलको मूल्य आठ वर्षपछि तोडिएको हो । त्यतिवेला प्रतिलिटर एक सय नौ रुपैयाँ तोकिएको डिजेल र मट्टीतेल भने यसबीचमा पटक–पटक महँगिँदै आएको छ ।निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ वृद्धि गरिएको छ । मंगलबार मूल्य समायोजन गर्दा ग्यासको मूल्य १५ सय ७५ नै यथावत् राखिएको छ । तर, यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । आन्तरिक हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँ बढाएर एक सय १६ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सय डलरले बढाएर एक हजार ९५ डलर निर्धारण गरिएको छ ।
पत्रपत्रिका बाट

थप