काभ्रेमा रहेका सहकारी व्यवस्थापक हरुको क्षमता अभिवृद्धि गोष्ठी होटल सारथीमा जारी

  •   २ वर्ष अघि | ६ असार २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे ।जिल्लामा संचालित सहकारीका ब्यवस्थापकीय प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी धुलिखेलमा सुरु भएको छ।

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजना तथा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यस्थापनमा आयोजित गोष्ठीमा जिल्लाभरमा संचालित सहकारी संस्थाहरुका १२९ जना प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकीय प्रमुखहरुको सहभागिता रहेको छ।

गोष्ठीको उद्घाटन पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गर्नुभएको हो।

गोष्ठीलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री युवराज खतिवडाले स्थानीय तहबाटै सहकारीको अनुगमन हुने प्रणाली विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

साथै डा. खतिवडाले सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा श्रम सहकारीमार्फत १० करोडसम्मको विकास निर्माणको ठेक्का लिन पाउने व्यवस्थाले सहकारी अभियानलाई नै पछि धकेल्न सक्ने संकेत गर्नुभएको छ।

सामाजिक व्यवसाय भएकोले सहकारीलाई करमा सहुलियत दिनु जायज भएको पनि उहाँको भनाइ थियो। तर घर जग्गामा लगानी गरी मुनाफामा मात्रै केन्द्रित हुने हो भने सहुलियत दिनुको अर्थ नहुने उहाँको तर्क थियो।

यस्तै वर्तमान वित्तिय अवस्थालाई लक्षित गर्दै डा. खतिवडाले वर्तमान अवस्था विद्यमान तरलता संकटको समस्या तत्काल समाधान नहुने बताउनु भयो । अस्वभाविक क्षेत्रमा लगानी बढेको हुँदा तरलता समस्या आएको र पुँजी पलायन, हुण्डी कारोबार एवं व्यापारमा हुने विचलनलाई रोक्न नसके तरलता समस्या हल नहुने उहाँले बताउनुभयो। सहकारीमा सुशासन कायम गर्न स्थानीय तहले सहकारीको अनुगमन गर्ने प्रणलीको विकास गनुपर्ने धारणा व्यक्त गर्नुभयो।

जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको गोष्ठीको उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)का अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका सल्लाहकारहरु टिकाबल्लभ सापकोटा, विनोद पराजुली, मुकुन्दप्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जितेन्द्र नकर्मी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, काभ्रेका अध्यक्ष विधान जोशी लगायतले कार्यक्रम प्रशंसा गर्दै मन्तव्य राख्नुभएको गर्नुभएको थियो।

गोष्ठीको पहिलो सत्र अन्तर्गत सहकारीमा प्रभावकारी वित्तिय संरचना, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका, प्रभावकारी ऋण असुली, सहकारीमा मोबाईल बैकिङ्गको प्रयागे लगायतका बिषयमा अन्तरक्रिया तथा प्रस्तुतिकरण गरिएको थियो ।

धुलिखेलस्थित होटल सारथीमा जारी गोष्ठी दुई दिनसम्म चल्ने छ।

थप