राष्ट्रपति विद्यादेवि भण्डारी ३० गते नाला आउँदै

  •   १ वर्ष अघि | २९ पुस २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

  बनेपा, नाला/विश्वको तेश्रो, नेपालको पहिलो दश अवतार सहितको ३० फिट अग्लो ब्रम्हा मन्दिर उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बनेपा नगरपालिका वडा नम्वर ४ नाला शेरामा आउनु हुने भएको छ । 
    मन्दिर निर्माण ब्यवस्थापन समितिको निमन्त्रणामा राष्ट्रपति शनिबार दिउसो मन्दिर उद्घाटनका लागि आउन लाग्नु भएको हो । राष्ट्रपतिको उद्घाटन कार्यक्रम तय भए सँगै स्थानीय स्तरमा तिब्र रुपमा ब्यवस्थापन भईरहेको छ । समितिका अध्यक्ष पुरुषोतम सापकोटाले नाला भेगकै गरिमा बढाउने गरी राष्ट्रपति अउने कार्यक्रम र विश्वकै तेश्रो ब्रम्हा मन्दिरको उद्घाटन कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी सकिएको बताउनु भयो । बनेपा नगरपालिका वडा नम्वर ४ साविक उग्रचण्डी नालामा दुई वर्ष अघि स्थानीयहरुले आफ्नै लगानीमा शुरु गरेको मन्दिरमा पुष २१ र २२ गते प्राण प्रतिष्ठा गरिएको छ । प्राण प्रतिष्ठा पछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएको छ । ‘विश्वका दुई मुलुक भारतको राजस्थान र थाईल्याण्डको बैकमा दश अवतार सहितको मन्दिर अवस्थित छ’–निर्माण समितिका अध्यक्ष पण्डित पुरुषोतम सापकोटाले भन्नुभयो–‘दश अवतार सहितको मन्दिर निर्माण भएको नेपाल तेश्रो स्थान र मुलुक हो ।’
    विश्वमै धार्मिक र सांस्कृतिक क्षेत्रका हिसाबले समेत थप परिचित बनाउने उदेश्यले अष्ट मातृका वरपर ब्रम्हायणी क्षेत्रमा ब्रम्हा मन्दिर निर्माण गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो । करिव १ सय रोपनी जमिन क्षेत्रफल रहेको उक्त क्षेत्रमा बृहत्त गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुरुपको पहिलो निर्माण कार्य पार्क सहितको दश अवतार भएका ब्रम्हाको ३० फिट अग्लो मुर्ति प्रतिस्थापन हो । उक्त कार्य सम्पन्न गर्न स्थानीयहरुले १ करोड २० लाख नगद संकलन गरेका थिए । ब्रम्हा मन्दिर सँगै महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्य समेत सम्पन्न भएको छ । विश्व शान्ति र कल्याणको कामना गर्दै बृहत रुद्रयाग (शैव महायज्ञ) एबं शिव महापुराण सहितको यज्ञानुष्ठान गरिएको सचिव श्याम सापकोटाले बताउनु भयो । ब्रम्हायणी मन्दिर क्षेत्रमा समुदाय स्तरबाट १० हजार माथि ५ सय ४६ जनाको आर्थिक सहयोग रहेको छ । बिष्णुका दस अबतार सहित परंपिता चतुरानन्द ब्रम्हाजीको मन्दिर एकै स्थानमा राखेर निर्माण गरिएको हो । ‘नेपालमै पहिलो पटक दश अवतार सहितको ब्रम्हायणी मन्दिर र ब्रम्हाको प्रतिमा स्थापना गरिएको छ । विधिवत रुपमा यसको प्राण प्रतिष्ठाको तयारी गरिएको छ’– समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले भन्नुभयो–‘१ करोड ४२ लाख लागत स्टमेटमा निर्माण व्यवसायीहरुको प्रतिस्पर्धामा १ करोड ५ लाखमा निर्माण सम्झौता गरिएको थियो ।’ उक्त क्षेत्रमा ब्रम्हाको प्रतिमा, मन्दिर र सिंढी निर्माण लगायतका संरचनाहरु तयार भएका छन् ।

थप