पर्यटकीय सम्भावना प्रचुर रहेको मणिकपुर तेमाल "लामा गाउँ"

  •   २ वर्ष अघि | २९ पुस २०७८, बिहिबार,    

काभ्रे । तामाङ समुदायको आदिथलो काभ्रेको तेमाल क्षेत्र आफैमा ऐतिहासिक सम्पदाको रुपमा रहँदै आएको छ । तामाङ संस्कार र संस्कृतिको जीवीत संग्राहालय समेत मानिने तिमालमा दर्जनौंको संख्यामा ऐतिहासिक,धार्मिक र पूरातात्विक हिसावले महत्वपूर्ण गुम्बाहरु पनि रहेका छन् । प्रत्येक थुम्का थुम्कामा तामाङ पहिचान र बौद्धधर्मका अवशेषहरु पाइने तिमाल क्षेत्र पछिल्लो समय यहाँमात्र पाइने पवित्र बुद्धचित्त मालाका कारण बढी चर्चामा छ । तर तिमाल क्षेत्रका गाउँ नै पिच्छे रहेका महत्वपूर्ण गुम्बाहरु भने अझै ओझेलमा नै रहेका छन् । त्यसैमध्येको एक गुम्बा हो साविक संस्युखर्क गाविस–३ को मणिकपुर गुम्बा ।
बिक्रम सम्वत १७०० सालमा स्थापना भएको मणिकपुर गुम्बा आफैंमा एतिहासिक हुनुको साथै धार्मिक र पूरातात्विक हिसावले समेत निकै महत्वपूर्ण गुम्बाको रुपमा रहेको छ । तर मणिकपुर गुम्बा उचित प्रचारप्रसारको अभावमा अझै पनि आन्तरिक तथा बाह्य पर्यटकको नजरबाट बेखबर जस्तै छ ।
यही कुरालाई मध्यनजर राख्दै प्रत्येक चार बर्षमा माघ शुल्क दशमीमा मनाईने राप्न्हे पूजा गर्न अहिले स्थानीय जुटेका छन् । यसका लागि उनीहरुले सरकार र गुम्बा व्यवस्थापन समितिबाट केही सहयोग पाउँने अपेक्षा गरेका छन् । तर आफूहरुको अपेक्षा विपरित सहयोग प्राप्त नभए पनि आफ्नो धार्मिक कार्यक्रम भने नरोकिने स्थानीयले बताए । मणिकपुरमा रहेको थर्पे देच्छोलिन्ङ गुम्बामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँने योजनाका साथ आफूहरु गुम्बाको राप्न्हे गर्न लागिपरेको स्थानीयले बताए ।
चारदिनसम्म चल्ने राप्न्हेको अवसर पारेर ओझेलमा परेको सम्पदा अवलोकन गर्न र यो भव्य महोत्सवमा सहभागी बन्न आन्तरिक एंव बाह्य पर्यटक आउँने उनीहरुको विश्वास छ । सुनकोशी नदी र रोशी खोलाको बीचमा अवस्थित तेमाल तामाङ समुदायको आदिथलो भएकोले तामाङ संस्कृति,संस्कार र परम्पराको त केन्द्रविन्दु नै हो । यसदेखि बाहेक यहाँबाट देखिने मनोरम हिमश्रृंखलाहरु,तत्कालीन तामाङ राजा ह्रिञ्जेन दोर्जेको राज्यकालीन दरवारका भग्नावशेषहरु,उनले निर्माण गरेका विभिन्न कोत र दरवारहरु,विभिन्न कालखण्डमा निर्माण भएका गुम्बा,चैत्य र म्हानेहरु र विश्वमै तिमालमा मात्र फल्ने बुद्धचित्त मालाका कारण सम्भावनायुक्त पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । त्यसका लागि तिमाल अहिले उचित प्रचार प्रसारको पर्खाइमा रहेको छ ।
गाउँपालिकाले सहयोग गर्छ 
तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङ पुरानो मध्येको एक गुम्बा भएकाले यसको प्रचार पसारमा आफूले सकेको सहयोग गर्ने बताउनुहुन्छ । 
बिहीबार भएको राप्न्हेको प्रमुख अतिथी तामाङले मणिकपुर गुम्बाको विकास र विस्तारमा आफुले सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार लगायतको विकासमा आफूले सकेको गर्ने बताउँदै पाँच बर्षमा आफूले तेमालमा विकासमा ज्यान दिएर लागेको बताए । उहाँले बौद्ध र हिन्दु धर्माम्लबीको उच्चतम नमूना तेमालमा रहेको बताए । 
उपाध्यक्ष दुर्गामाया तामाङले तेमालको सस्कृति जोगाउन आफूहरु हरदम प्रयासरत रहेको बताइन् । 
प्रचार र भौतिक पूर्वाधारमा चासो 
गुम्बा संचालक समितीका अध्यक्ष कान्छामान लामा, भौतिक पूर्वाधार विकाससँगै आफ्नो क्षेत्रको पर्यटकीय विकास गराउन गुम्बाले विशेष भुमिका खेल्ने बताउनुहुन्छ । ७० घर गुठीयारले हरेक चार चार बर्षमा आर्थिक स्रोत जुटाएर राप्न्हे गर्ने गरेको र यसलाई प्रचार गर्न सके तेमालमा आउने पर्यटकलाई मणिकपुरसम्म ल्याउन गाउँपालिकाले प्रचार गरिदिन अनुरोध गरे । 
गुठियारका समितीका अध्यक्ष बाबुलाल तामाङले आफ्नो पुर्खाले हरेक चार बर्षमा पुजा र राप्न्हे गर्ने निर्णय गरेकोमा सोही अनुसार निरन्तरता गरेको बताए । उनले सबै इष्टमित्र पाहुना बोलाएर सात दिनसम्म गरिने पुजाको निक्कै ठूलो महत्व रहेको बताए ।

थप