टोकबहादुर वाईबाको क्षेत्रमा "एक घर एक धारा कार्यक्रम " पाचँ हजार घरधुरी लाभान्वित

  •   २ वर्ष अघि | २४ मंसिर २०७८, शुक्रबार,    

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाको ५ हजारभन्दा बढी घरमा ‘एक घर, एक धारा’ पुगेको छ । नगरको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत ५ हजार ३ सय घरधुरीमा ‘एक घर, एक धारा’ पुगेको हो ।

नगरपालिका र विभिन्न संघ संस्थाको सहयोगमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन भएको नगर प्रमुख टोकबहादुर वाईबाले बताएका छन् । नगरपालिकामा ४ हजार ५ सय घरधुरी छन् । यी घरधुरी सहित भुकम्पपछि थपिएका घरमा ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ घर घरमा खानेपानी पुर्‍याइने छ ।

यो आयोजनाबाट मण्डनदेउपुर नगरपालिकाको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का ५ हजार ५ सय ५ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष राम बहादुर तामाङले जानकारी दिए । ८४ करोड ४० लाख लागत अनुमान गरिएको यो आयोजनाको ठेक्का सम्झौता ५४ करोडमा भएको हो । शर्मा–लामा–रमण जेभीले आयोजनाको ठेक्का पाएको छ ।

आयोजना अगामी तीन वर्षभित्र सकिनेछ । आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तभित्र सकाउनु पर्ने समयसिमा तोकिएको छ । ‘प्रत्येक उपभोक्ताले दुई हजार बुझाउनु पर्ने नियमका बाबजुद नगरपालिकाले १÷१ हजारका दरले सबै उपभोक्ताको एक मुष्ट ५१ लाख रुपैयाँ कोषमा दाखिला गरेको छ ।’ नगरप्रमुख वाइबाले भने, ‘उपभोक्तालाई आर्थिक ब्ययभार नपरोस् भनेर यसो गरिएको हो । अब उपभोक्ताको भागमा जम्मा १ हजार मात्रै परेको छ । चुनावी घोषणा पत्र अनुसार ‘एक घर, एक धारा’ सम्पन्न गर्ने तिर हामी अन्तिम चरणमा पुगेका छौँ ।’

यो आयोजना अन्तर्गत विभिन्न ठाउँमा फरक फरक क्षमताका ३० वटा ट्यांकी निर्माण हुने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार २३ वटा वितरण ट्यांकी बन्नेछ भने वितरण ट्यांकी २० देखि १ सय घनमिटरसम्मको निर्माण हुनेछ । त्यसैगरी पम्पीङ गर्ने ७ वटा ट्यांकी निर्माण गरिनेछ । जुन ट्यांकी ४० देखि २ सय घनमिटरका हुनेछन् ।

‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को मुख्य ट्यांकी नगरपालिकाको वडा नम्बर १० को थामडाँडामा निर्माण हुनेछ । इन्द्रवती नदीको वडा नम्बर १० को नारिमखर्क र वडा नम्बर ७ को सोतेबाट मुख्य ट्यांकीमा पानी खसालिने छ ।

थप