निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पनौती ११ बल्थलीको नेपाने र डाँडागाउँका १ सय ९५ घर धुरीमा एक घर एक धारा

  •   १ वर्ष अघि | १८ साउन २०८२, शनिबार,     एक्टिभ मिडिया

नेपाने, बल्थली/२०८१ असोज १०–१२ को अरिवल वर्षातका कारण क्षतविक्षत भएको खानेपानी योजनालाई ग्राभीटी प्रणाली मार्फत पुर्ननिर्माण गरी पनौती ११ बल्थली स्थित नेपानेका १ सय २३ घर धुरी र डाँडागाउँ टोलका ७२ घर धुरीमा एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ ।

युनिसेफ नेपाल र सिविक फोरमको आर्थिक सहयोगमा निर्माण गरिएका उक्त आयोजना संचालनमा आए सँगै उपभोक्ताहरुमा खुशी छाएको नेपाने फ्याङखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार तामाङले बताए । ‘२०७२ सालको भुकम्पले क्षतविक्षत बनायो । बल्लबल्ल कारितास नेपालको सहयोगमा खानेपानी संचालनमा ल्यायौं । फेरी २०८१ असोजको बर्षातले खानेपानी पूर्ण रुपमा क्षति भयो । खानेपानी संचालनमा आउँछ भन्ने विश्वास नै थिएन’–अध्यक्ष कृष्णबहादुर तामाङले भने–‘युनिसेफ नेपाल र सिविक फोरम सहित वडा सरकारलाई धन्यवाद ब्यक्त गर्दर्छाै ।’ वडा अध्यक्ष विपिन लामाको पहलमा सिविक फोरमले युनिसेफको सहयोगमा १९ लाख ९ हजार ४ सय ५ रुपैयाको बजेट विनियोजन गरी १ सय २३ वटा धारा सहित २ वटा २०÷२० हजार क्षमताको पानी ट्याङ्की निर्माण गरिदिएको छ । जनश्रमदानबाट ४ लाख १८ हजार ९१ रुपैया खर्च भएको छ । उपभोक्ताहरुले उक्त परियोजनाका लागि एक रुपैया पनि खर्च गर्न नपरेको उनले बताए ।

लाभान्वित परिवारमा १ सय २३ घर धुरी नै जनजाति(तामाङ) समुदाय छन् । २ सय ७९ जना महिला र ३ सय ३ जना पुरुष सहित १ सय १५ जना बालबालिका छन् । भुकम्पको समयमा २ सय १० घर परिवार थिए । अहिले १ सय ९० घर परिवार छन् नेपानेमा । लुकुवामा ३२ घर छन् । नेपाने सानो गाउँमा ४५ घर छन् । केहि घर परिवारका बाहेक अधिकांश गाउँमा नै बसोबास गरिरहेको अध्यक्ष तामाङले बताए । ‘पहिले पानी मात्रै उपभोग गरिरहेका थियौं । अहिले खानेपानीको सुरक्षित प्रयोग, गुणस्तरीय खानेपानीका लागि उपभोक्ताको भूमिका र दायित्व, सरसफाईका मुख्य क्षेत्र र सरसफाईको तरिकाका बारेमा बालबालिकाहरुलाई समेत तीन दिने अभिमुखिकरण तालिम उपलब्ध गराईएको छ’–अध्यक्ष तामाङले भने–‘विपत्तिले विनाश मात्रै गरेन अवसर पनि उपलब्ध गरायो ।’ केहि दिन खानेपानीको हाहाकार भयो । स्थानीय सरकारले उपलब्ध गराएको केहि पाईप मार्फत अस्थायी खानेपानी उपभोग भयो । नियमितताका लागि सिविक फोरम स्थानीयहरुका लागि बरदान बनेको अध्यक्ष तामाङले बताए ।

२०४७ सालमा तत्कालिन जिल्ला पञ्चायत मार्फत नेपाने गाउँको सौराडाँडामा २० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको थियो । ३ किलोमिटर टाडा पर्ने बेथान्चोक गाउँपालिका वडा नम्वर ६ स्थित साईला मगरको ब्यक्तिगत जग्गामा मञ्जुरीनामा सहितको मुहान सम्झौता गरिएको छ । त्यतिबेला नेपाने गाउँमा ८ वटा धारा थिए । भुकम्प पछि धारा विस्तार भए पनि एक घर एक धारा हुन सकेको थिएन । अहिले सबैका घर घरमा धारा पुगेको छ उपभोक्ताहरु खुशी भएको तामाङले बताए । नियमित मर्मत तथा दैनिक खानेपानी संचालनका लागि हेरालु राखिएको छ । घर घरमा मिटर जडान गरिएको छ । उभोक्ताहरुले १० युनिटसम्मको १ सय रुपैया र थप प्रति युनिट १० रुपैयाका दरले मासिक शुल्क लिने निर्णय उपभोक्ता समितिले गरेको छ । उपभोक्ताहरुका तर्फबाट मर्मत सम्भार कोषमा प्रति उपभोक्ता १ हजारका दरले संकलन गर्ने निर्णय भएको छ ।

मुहान देखि मुखसम्म स्वच्छ, गुणस्तरीय र स्वच्छ खानेपानीका लागी परिक्षण गरिसकिएको उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर तामाङले बताए । २०८१ चैत्र १५ गते सम्झौता भएको उक्त योजना २०८२ जेष्ठ १५ गते सम्पन्न भएको हो । सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरका अनुसार नेपाने गाउँका टोड्के खानीडाँडा, सौराडाँडा, छापगाउँ नेपाने र ठुलागाउँमा पाईप लाईन टान्समीसन लाईन, वितरण लाईन (मिटर) २८ सय ५०, बारबेड फेन्सीङ कार्य २ वटा, केवल क्रसिङ १ वटा र घरधुरी धारा १ सय २३ वटा निर्माण गरिएको छ । कुल २३ लाख २७ हजार ४ सय ९६ रुपैया बराबरको कार्य सम्पन्न भएको कुँवरले बताए । बल्थलीकै डाँडागाउँमा एक घर एक धारा कार्यक्रमका लागि ७२ घर धुरी जनजाति (तामाङ) समुदायका लागि १२ लाख ३७ हजार ७ सय ८९ रुपैया खर्च भएको छ । उक्त योजनाबाट ४ सय वटा पाईप लाईनको कार्य भएको छ भने २८ सय ७० मिटर वितरण लाईन निर्माण गरिएको छ । ब्यक्तिगत धारा ७२ वटा निर्माण गरिएको छ । मर्मत सम्भार कोषमा ५७ हजार ६ सय रुपैया जम्मा गरिएको छ । देवीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २०८१ माघ १ गते योजना सम्झौता गरी २०८२ बैशाख १७ गते सम्पन्न गरेको थियो ।

उपभोक्ता शर्मिला तामाङले यस अघि प्रयोग गरिँदै आएको सामुहिक धारा भन्दा एक घर एक धारा कार्यक्रम प्रभावकारी भएको बताईन् । ‘धारा सफा हुँदैन थियो, कोहि सफा नगर्ने, फोहोर मात्रै गर्ने आफ्नो जस्तो अनुभुती पनि हुँदैन थियो’–शर्मिलाले भनिन–‘अहिले धेरै आनन्द भएको छ । आफ्नो समयमा खानेपानी लिन, लुगा धुन तथा नुहाउन र धारा सफा राख्न सहज भएको छ ।’

सामुहिक धारा विहान र बेलुका मात्रै आउँदा त्यो समयमा अन्यत्र भएको समयमा खानेपानी थाप्न समेत असहज हुने गरेको शर्मिलाले बताईन् । शर्मिलाले सिविक फोरमले संचालन गरेको उक्त योजनाले आफु लाभान्वित भएको प्रतिक्रिया दिईन् । वडा अध्यक्ष विपिन लामाले वडाका बाँकी क्षेत्रमा समेत एक घर एक धारा कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने गरी कार्य अघि बढेको बताए । एक घर एक धारासँगै गुणस्तरीय र स्वच्छ खानेपानी प्राथमिकतामा रहेको उनको भनाई थियो ।

थप