सहकारीको भिडमा एक फरक अस्तित्व बोकेको झिगु सहयोगी बचत 

  •   ३ वर्ष अघि | २३ असोज २०७८, शनिबार,    

बनेपा÷एक हजार हाराहारीमा सदस्य संख्या तथा काम गर्ने शैली ज्यादै पृथक । सहकारीको भिडमा बनेपाको मुख्य बजार बनेपाबाट भित्र रहेको मानन्धर समुदायको हकहितको लागि स्थापना भएको झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस सामान्य तरिकाले मनाएको छ । 
स्थापना कालदेखिनै सदस्य सेवामा आफूलाई समाहित गरेको सहकारीले यो बर्ष पनि बनेपाको चारदोबाटोमा निशुल्क खानेपानीको व्यवस्था, आफ्ना जेष्ठ सदस्यलाई तिर्थाटन गराउँदै बनेपामा पछाडी रहेको समुदायलाई बचत तथा ऋण कार्यक्रम मार्फत समृद्धिको यात्रामा अघि बढाइरहेको छ । 
सहकारीले केही बर्षमै आफ्नो भवनबाट सेवा प्रवाह गर्ने योजना अघि सारेको छ । त्यसका लागि सहकारीले निरन्तर आफूले गर्ने कर्म गरिरहेको छ । कोभिडको कारणले भिडभाड नगरी असार २० गते सुरु गरेको साधारण सभा २३ गते समापन भएको हो । 
सहकारीका अध्यक्ष बुद्धरत्न मानन्धरले साधारण सभाको अवसर पारेर एक बर्षमा गरेको काम र आगामी बर्ष गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । उहाँले सदस्यको अपार माया र स्नेहको कारणले सहकारीले निरन्तर फड्को मारेको र आगामी दिनमा समेत निरन्तर सदस्यको हक र हितको लागि काम गर्ने बताउनुभयो । 
सहकारीको उपाध्यक्ष टिकानारायण मानन्धरले स्वागत गरेको कार्यक्रममा सचिव दीपा मानन्धरले प्रगति, कोषाध्यक्ष नवराज मानन्धरले आर्थिक तथा लेखा समितीका प्रमुख पुरुषोत्तम मानन्धरले लेखा समितीको प्रतिवेदन पेश गरेका थिए । 
कार्यक्रममा विशेष अतिथी पत्रकार केशवराज पौडेलले सहकारीले बनेपाको सिमान्तकृत तथा कम आयआर्जन भएको समुदायको निरन्तर प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँले खानेपानीको व्यवस्था, चण्डेश्वरी जात्रामा निशुल्क खानेपानी, तिर्थाटन जस्ता सामाजिक कार्य गरेर सहकारीले धेरैको मन जितेको भन्नुभयो । 
कार्यक्रमको प्रमुख अतिथीको रुपमा सहकारीका सल्लाहकार सहकारीका अगुवा बुद्धरत्न मानन्धरले सानो भएर, तल्लो तहमा बसेर मानन्धर समुदायको हकहितमा स्थापना भएको सहकारी भएकाले यसले बनेपामा आफ्नो छुट्टै पहिचान बनाउन सकेको भन्नुभयो । 
उहाँले सहकारीको भिडमा फरक पहिचान बनाउँदै सदस्यता बृद्धिको बिषयमा सहकारीले चासो दिन आवश्यक रहेको बताउनुभयो ।

थप