जिल्ला सहकारी संघ काभ्रेको क्षमता अभिवृद्धि तालिम सम्पन्न

  •   ३ वर्ष अघि | २७ चैत्र २०७७, शुक्रबार,    

काभ्रे, जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले सञ्चालन गरेको लेखा सुपरिवेक्षण समितिका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका प्रारम्भिक सहकारी संस्थाहरुका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागितामा एक दिवसीय क्षमता अभिबृद्धि तालिम आज बनेपामा सम्पन्न भएको हो ।
सहकारी संस्थाहरुमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नका लागि लेखा सुपरिवेक्षण समितिको महत्वको आवश्यकता महसुश गरी तालिम सञ्चालन गरिएको संघले जनाएको छ । पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्दै जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष दिलिप शर्माले सहकारीको प्रवद्र्धन र विकास सहित संस्थामा सुशासन ल्याउनका लागि जिल्ला सहकारी संघ लि. ले यस्तै धेरै भन्दा धेरै कार्यक्रमहरुको आयोजना गर्ने उल्लेख गर्दै तालिम सफलताको शुभकामना दिएका थिए ।

तालिममा समितिको भूमिका, जिम्मेवारी सहित काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिइएको थियो भने सहकारीमा काम गर्दाको अनुभव, समस्या र समाधानका उपायहरुका बारेमा समेत अन्र्तक्रियात्मक रुपमा छलफल गरिएको थियो । जिल्ला सहकारी संघ लि. का लेखा सुपरिवेक्षण समितिका संयोजक शमभुलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त तालिममा संघका शिक्षा तथा तालिम व्यवस्थापन उप समितिका संयोजक तथा सञ्चालक सदस्य ठाकुरनाथ अधिकारीले मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन संघका सचिव निरन्जन विष्टले गरेका थिए ।

राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नवकुमार अधिकारीको सहजिकरणमा सम्पन्न भएको उक्त तालिममा जिल्लाका विभिन्न सहकारी संस्थाका ३२ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले वितरण गरेका थिए । तालिमका सहभागिहरुले तालिम अत्यन्तै फलदायि भएको र यस्ता तालिमहरुलाई जिल्ला सहकारी संघहरुले आगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउनु पर्ने सुझाव समेत दिएका थिए । संघले आगामी वैशाखमा ऋण व्यवस्थापन तथा लेखा व्यवस्थापन तालिम गर्ने निर्णय गरेको छ ।

थप