काभ्रेमा ‘ट्राफिक सप्ताह’ सुरु,दुर्घटना न्युनिकरणको उद्देश्य

  •   ३ महिना अघि | २५ माघ २०८०, बिहिबार,     मणिराम दाहाल

काभ्रे–जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काभ्रेमा एक साता लामो ट्राफिक सप्ताह सुरु गरेको छ । सवारी सुशासन कायम गरी सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह सुरु गरिएको हो ।

कार्यक्रमको पहिलो दिन आज बनेपाको चारदोबाटोबाट ट्राफिक सचेतनासहितको प्रभातफेरी र्यालि आयोजना सहित सप्ताहको सुरुवात गरियो । सात दिनसम्म एक दर्जन भन्दा बढी कार्यक्रम गरेर सप्ताह समापन गरिनेछ ।

 जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार सप्ताहको दोस्रो दिन (शुक्रबार) स्वयम्सेवकहरु परिचालन गरी सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने, सचेतना स्टिकर टाँस गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, तेस्रो दिन (शनिवार) ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम, बढी भाडा अनुगमन, माक्स वितरण गर्ने, सिट क्षमताभन्दा बढी यात्रुको अनुगम गर्ने कार्यक्रम तय भएको छ । 

यस्तै सप्ताहको चौथो दिन सवारी चालकसँग पाँच मिनेट कार्यक्रम तथा ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तीव्र गतिमा सवारी चलाउने चालकलाई प्रशिक्षण, पाँचौ दिनमा बिद्यार्थीलाई ट्राफिक सचेतना, गाउँगाउँमा आमा समूह, टोल सुधार समिति र युवा क्लवहरुलाई ट्राफिक सचेतना कार्यक्रम, छैटौँ दिनमा चालक र सहचालकहरुको सामान्य स्वास्थ्य परीक्षण, सवारी साधनहरुको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम र सातौँ दिन ट्राफिक सप्ताहको उपलब्धि र प्रभावकारिताको बारेमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरिने प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।  

ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सवारी चलाउँदा सवारी नियम पालना गरेको खण्डमा दुर्घटना न्यूनिकरणमा मद्दत हुने बाइन् । जिल्लामा केही समय पहिला भएका केही सवारी दुर्घटनाका पिडित परिवारले व्यवसायीहरुले प्रतिवद्धता जनाएको क्षतिपूर्ति रकम हालसम्म उपलब्ध नगराएको प्रति लक्षित गर्दै शर्माले कानुन, नियमहरुभन्दा माथि उठेर आफुले गरेका प्रतिवद्धताहरु पुरा गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किसन सिंह थापाले हतारमा सवारी चलाउने परिपाटीले सवारी दुर्घटनाको जोखिम बढी भएको बताए । यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले प्रहरी एक्लैको प्रयासले मात्रै सवारी दुर्घटना न्यूनिकरण नहुने बताउँदै सबै सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट सवारी दुर्घटना न्यूनिकरणका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष बद्रिराज तिमल्सिनाले जिल्लामा भएका तीन वटा सवारी दुर्घटनामा मृत्यु भएका मृतकका परिवारले व्यवसायीले दिने भनेर प्रतिवद्धता जनाएको थप क्षतिपूर्ति रकम दिन आलटाल गर्दा पिडित परिवारमा समस्या भएको बताए ।  

थप