काभ्रेबाट फरार रहेका थुनुवा भक्तपुरमा पक्राउ

  •   २ वर्ष अघि | २३ भदौ २०७८, बुधबार,    

काभ्रे – काभ्रेपलान्चोक जिल्ला अदालत परिसरबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । जिल्ला अदालतको परिसरबाट भागेका जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ६ का सुनिल वाईवा लामालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई खोजतलासको क्रममा भदौ १६ गते महानगरिय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।

कारागार कार्यालयबाट जिल्ला अदालतमा बकपत्रका लागि लगिएका उनी भदौ ९ गत अदालत परिसरबाट फरार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी (डिएसपी) हरि खतिवडाले जानकारी दिए । उनका अनुसार थुनुुवा लामा अदालत परिसरबाट भागेपछि जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट प्रहरी अधिकृत सहितको टोली परिचालन गरिएको थियो ।

उनको विगतको अपराधिक पृष्ठभूमी अध्ययन गर्दा यस भन्दा अघि नयाँ बानेश्वर र बौद्धमा मदिरा चोरी र ठगी कसूरमा संलग्न रहेको पाईएकोले पुनः साथी संगतीहरुसँग सम्पर्क गरि सोहि प्रकृतिको अपराधमा संलग्न हुन सक्ने हुँदा काठमाण्डौ, ललितपुर र भक्तपुर लगायतका छिमेकी जिल्लामा हुलिया परिपत्र गरी उक्त क्षेत्रका प्रहरीहरुसँग समन्वय गरि खोजतलास गरिएको डिएसपी खतिवडाले जानकारी दिए ।

खोजतलासकै क्रममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ भिमसेन चोक भन्ने स्थानमा दस लाख पचास हजार बराबरको मदिरा खरिद गर्ने भनि मगि गर्ने मनसायले मदिरा व्यवसायीहरुसँग कुरा गरिरहेको सुचनाको आधारमा महानगरिय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको हो । थुनुवा लामालाई हाल महानगरिय प्रहरी वृत्त ठिमीले ठगी तथा अपराधिक विश्वासघात मुद्धामा जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

थप