आर्दश विद्या मन्दिरको स्थापना दिवस

  •   १ वर्ष अघि | ३ बैशाख २०८०, आइतवार,     मणीराम दाहाल

काभ्रे ,  आर्दश विद्या मन्दिर बनेपाको २० औं स्थापना दिवस सम्पन्न भएको छ ।
विगत वर्ष माध्यमिक शिक्षा परिक्षा र कक्षा १२ उर्तिण विद्यार्थीलाई विदाई तथा स्थापना दिवसका सन्दर्भमा मानव बेचविखन विरुद्धको अभियन्ता चरिमाया तामाङले विद्यार्थीलाई उत्प्रेरणा मन्तव्य दिएकी थिइन । कक्षा १२ उर्तिण हुने वित्तिकै विदेश जाने सोचाई गलत नभएको भन्दै आफ्नै देशमा सकेको काम गर्नु सबैभन्दा उत्तम रहेको उनले बताइन । पढेलेखेकै मानिस आफ्नै पैसा खर्च गरेर बेचविखनमा परिरहेको सन्दर्भमा आफू जँहा जाने हो त्यहाँको सबै कुरा बुझेर मात्र जानका लागि उनको सुझाव थियो । ‘कामका लागि विदेश जानेमध्येकै धेरै जनाको लास ल्याउन पनि मुस्किल छ, पुरुषको भन्दा विदेश जाने विषय महिलाका लागि धेरै जोखिमपूर्ण छ ।’
मानव बेचविखन आन्तरिक, समुन्द्रपार र सिमापार सबैतिर भएको उल्लेख गर्दै तामाङले सानै उमेरमा आफूलाई भारतिय वेश्यालयमा बेचेर नेपाल फर्किएको घटना स्मरण गराएकी थिएइन – ‘मलाई बेच्ने मानिसले जेल सजाय त काट्यो तर मेरो जीवनमा भोगिएका शारिरिक, मानसिक र संवेगात्मक क्षति कहिल्यै पुरा हुँदैन ।’
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोराले उर्तिण विद्यार्थीलाई शुभकामना दिँदै विद्यालय शिक्षा सकिँदैमा पढाई पुरा नहुने बताए । उनले पनि आफ्नै ठाँउमा रहेर नमूना काम गर्नका लागि विद्यार्थीहरुलाई हौंसाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गित र नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले हालसम्म विद्यालयले गरेका प्रगती सुनाउँदै विद्यालय शिक्षा सकाएर समुदायलाई असल र योग्य नागरिक हस्तातरण गर्न पाएकोमा खुशी व्यक्त गरे ।
स्थापना दिवसका सन्दर्भमा कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकमध्येबाट रामबाबु खत्री र अधिबक्ता तिर्थराज दाहाललाई सम्मान गरिएको थियो । गुरुकुलका बटुकहरूद्वारा स्वतिक वाचन गरि शुरु गरिएको कार्यक्रममा सहायक प्रिन्सिपल ललिता बन्जाराले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिना, अधिवक्ता रामशरण घिमिरे, राष्ट्रिय पोशाकका अभियन्ता राजानन्द मान्ड्य र शिक्षक केशव दाहाल लगायतले मन्तव्य राखेका थिए ।  

थप