पनौतीका किसानलाई पाडी वितरण

  •   २ वर्ष अघि | २३ माघ २०७८, आइतवार,    

 

काभ्रे । जिल्लाको पनौती नगरपालिकाले नगरका किसानलाई पाडी वितरण गरेको छ । विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवर्द्धनका कार्यक्रम गर्दै आएको नगरपालिकाले यो वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।
यस आर्थिक वर्षको पहिलो चरण अन्तरगत नगरपालिकाको वडा नं ४ का कृषकहरुलाई १५ वटा पाडी वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक कार्यक्रमका बिच किसानलाई आज आइतबार पाडी वितरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भिम न्यौपानेले आफ्नै सम्पति सम्झेर मिहेनत गरेमा राम्रो उत्पादन र प्रतिफल पाउने सकिने बताउदै यसबाटै आर्थिक उन्नति हुदै जाने र प्रतिफलको लागी केहि समय धैर्य गर्न पनि उपस्थित कृषकलाई आग्रह गरे ।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले कृषि र पशुपन्छीको क्षेत्रबाट नै पनौतीका नागरिकहरुको आर्थिक उन्नति हुने बताउदै पहिले पाडी वितरण गर्दा खिसीट्युरी गर्नेहरु नै अहिले प्रशंसा गर्न थालेको उल्लेख गरे ।
पनौती नगरपालिकालाई दुग्ध जन्य उत्पादनमा अझै सबल बनाउने र विपन्न किसानको आर्थिक स्तर माथि उठाउने उद्देश्यले कार्यक्रमको सुरुवात भएको थियो। यो वर्ष १५० वटा पाडी वितरण गर्ने कार्यक्रम रहेको पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार गत वर्ष ८०६ वटा पाडी वितरण गरिएको थियो।

थप