समाजवादी काभ्रेमा खडेरी , ‘डेरा’ छाडेर ‘घर’ फर्किए पौडेलसहितका नेता कार्यकर्ता

  •   १ वर्ष अघि | १७ कार्तिक २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

बनेपा–नेकपा एकीकृत समाजवादीका वागमती प्रदेश कमिटी सदस्य रमेश पौडेसहित सो पार्टीमा आबद्ध जिल्लास्तरीय नेता, कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् । 


आज बनेपामा पत्रकार सम्मेलन गर्दै पौडेलसहित, अनेमसंघकी नेतृ मिरा पौडेल, अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य अबिचल पौडेल, नेताहरु राजेन्द्रप्रसाद पौडेल, गंगा श्रेष्ठ, रामदास सुवाल, सुनिल लामा लगायत एमालेमा फर्किएका हुन् । यस्तै बेथानचोक गाउँपालिकाका नेता भीम लामा नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा फर्किएका छन् । पत्रकार सम्मेलनमा नेता पौडेलले आफूहरु पदका लागि एमालेमा फर्केको नभई विगतमा असहमति रहेका कतिपय राजनीतिक विषय अहिले असान्दर्भिक भएको तथा राष्ट्रियताको सम्बद्र्धन र  कम्युनिष्ट आन्दोलनको रक्षा र विकासको निमित्त सवल एमाले पार्टीको अपरिहार्यता रहेको महसुस गर्दै एमालेमा आएको बताए ।


 एमालेमा फर्किएकाहरुले पार्टीले विगतका नीति, कार्यक्रम, कार्यदिशा र कार्यशैलीको समीक्षा गर्दै सही नीति, कार्यक्रम र कार्यदिशाको निरन्तरता र भएका गल्ती कमजोरीहरू सुधार गर्दै जाने अपेक्षा सहित विनाशर्त पुन एमालेमा प्रवेश गरिएको बिज्ञप्तिमा उल्लेख गरेका छन् । शिक्षक आन्दोलनबाट स्थापित नेता पौडेलले आफूहरू विगतमा एमाले छाडेर नेकपा एसतिर लागेपनि अहिलेको परिस्थितिमा एमाले पराजित हुँदा कम्युनिष्ट आन्दोलन कमजोर हुने देखेर पार्टीमा विनाशर्त फर्किएको बताएका छन् । अन्य कतिपय नेता कार्यकर्ता पनि पुन एमालेमै फर्किएको र फर्कने क्रम जारी रहने पौडेलले बताए । 


पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पौडेलसहितका नेता एमालेमा फर्कनुले देशभर एमालेबाहिर रहेका कम्युनिष्टहरुलाई मुलधारमा फर्कनुपर्छ भन्ने सन्देश गएको बताए । पार्टी र आन्दोलनमा लाग्नेहरुले समयक्रममा पार्टी र अन्य मोर्चामा जिम्मेवारी प्राप्त गर्ने बाँस्कोटाको भनाई छ । यस्तै एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुले पौडेलसहितका नेताहरु एमालेमा फर्कदाँ राष्ट्रियता र समृद्धिको आन्दोलन थप बलियो बन्ने विश्वास व्यक्त गरेका थिए ।

थप