काठमाडौं । साहित्यकार प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’को दोस्रो संस्करण सार्वजनिक गरिएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्र्रधान,डा.सृजना शर्मा,लेखनाथ हुमागाईं,छविरमण सिलवाल र नियात्राकार सापकोटा लगायत साहित्यकारले कृति सार्वजनिक गरे ।
कृति सार्वजनिक गर्दै प्रा.डा. गौतमले यात्रा संस्मरण या नियात्रा लेख्दा ढाँट्ने छुट लेखकलाई नभएको यसमा प्रदीप इमान्दार भएको बताए । सत्यतथ्यमा आधारित रहेर निबन्धात्मक यात्रा संस्मरण लेखिनुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समय नियात्रा लेखनमा विकृति आएको चर्चा गरे । सिर्जनाको स्तरीयतामा नियात्रा लेख्ने लेखकले ध्यान पुर्याउनुपर्ने उनले बताए ।
साहित्यकार तथा समीक्षक प्रमोद प्रधानले सार्वजनिक कृतिको समीक्षा गर्दै यात्रा निबन्ध, नियात्रा र यात्रा संस्मरणबारे चर्चा गरे । उनले यात्रा निबन्धमा चित्रात्मक गति हुनुपर्नेमा जोड दिए । प्रदीपको यात्राकृतिमा गति रहेको उनले उल्लेख गरे ।
अर्का समीक्षक डा. सृजना शर्माले कृतिकारले पाठकलाई मेची, महाकाली मात्र नभएर सीमापारिको दार्जिलिङ पनि घुमाएको बताइन् ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए । पछिल्लो समय यात्रा साहित्यका लेखक मात्र नभई पाठक पनि बढ्दै गएको उनको भनाइ छ ।उनले सापकोटाका कृति निजात्मक भावले ओतप्रोत रहेको बताए । उनले यस्तो समयमा दोस्रो संस्करण निस्कनु आफैमा महत्वपुर्ण भएको बताए।
सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रकाशक केशव पराजुली, साहित्यकारहरू पवन आलोक, किशोर पहाडी, लेखनाथ हुमागाईं, राधेश्याम लेकाली, तारा केसी, छविरमण सिलवाल र कृतिकार सापकोटाले आफ्ना धारणा राखे ।