मण्डनदेउपुरको ज्याम्दीमा शहरी स्वास्थ्य केन्द्र उद्घाटन

  •   २ वर्ष अघि | १२ फाल्गुन २०७८, बिहिबार,    

 काभ्रे। काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ मा शहरी स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ। नगर प्रमुख टोकबहादुर वाइबाले स्वास्थ्य केन्द्रको उद्घाटन  गर्नुभएको हो।
शहरी स्वास्थ्य केन्द्रको उदघाटन गर्दै नगर प्रमुख वाइबाले कोरोना भाइरस सुरु हुँदादेखि नै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिएर काम गरेको उल्लेख गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउन नगरपालिका निरन्तर लागि रहेको बताउनुभयो । उहाँले मण्डनदेउपुर नगरबासीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा कुनै सम्झौता नगर्ने बताउनुभयो ।

नगरपालिकाले जनस्वास्थ्यलाई थप सबलीकरण गर्न नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको ३५ थरी औषधीका अलावा नगरपालिकाले थप औषधि खरिद गरेर वितरण गरेकाले सो लाभ लिन वडाबासीहरुलाई नगर प्रमुख वाइबाले आग्रह गर्नुभयो ।
यस अघि नगरपालिका वडा नम्बर ५ र वडा नम्बर १ मा खोप केन्द्र सञ्चालनमा ल्याइसकेको छ। त्यसैगरी वडा नम्बर २ बालुवापाटी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चलनमा ल्याएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाले स्वास्थ्य चौकी नभएका वडाहरुमा शहरी स्वास्थ्य केन्द्र स्थापनालाई तीब्रता दिएको छ । नगर प्राथमिक अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
बागमती प्रदेशका सांसद लक्ष्मण लम्सालको पहलमा विनियोजित करिब ९ करोड बजेटमा अस्पतालको संरचना बनिरहेको हो । यो अस्पतालमा ५ वटा वेड, ल्याब, एक्स रे, बर्थिङ केन्द्र, फार्मेसी लगायतका सुविधा हुनेछ ।
यो स्वास्थ्य सेवा केन्द्रबाट बिरामी जाँच, गर्भवती जाँच, पोषण सेवा, परिवार नियोजन सेवा लगायत स्वास्थ्यका आधारभूत सेवाहरु प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो ।

थप