काभ्रे । समाजसेवी अनिला कायस्थले आमाको आठौं वार्षिक पुण्यतिथिको अवसरमा बनेपामा रहेको शिर मेमोरियल हस्पिटलमा नर्सिङ सेवालाई मर्यादित बनाउन नगद सहयोग गरेकी छिन् ।
कायस्थले आफ्नी आमा स्व. चन्द्रदेवी कायस्थको सम्झनामा नर्सिङ सेवामा समर्पित नर्स हरुको मनोबल उच्च बनाउन ५० हजार ५ सय रुपैयाँ सहयोग गरेकी हुन्
।
समाजमा कुनै बेला नर्स भन्ने बित्तिक्कै बिरामीको स्याहारसुसार गर्ने मानिस हो भन्ने धारणा थियो । तर हिजोआज हामीमा धेरै कुराको शिक्षा र चेतना बढेको छ । जसले गर्दा स्वास्थ्यको क्षेत्र र बुझाइमा धेरै नै फराकिलो हुदै गएको छ । मानिस स्वस्थ्य रहनलाई शारीरिक रुपमा मात्र स्वस्थ्य भएर हुन्न मानसिक रुपमा पनि स्वस्थ रहनु पर्दछ भन्ने कुराको विकास भएको छ । चार दशक अगाडिसम्म नर्सिङ पेशालाई समाजले हेर्ने दृष्टि नै फरक थियो । तर, आजभोलि यो पेशा सम्मानित भएको छ । जसले गर्दा आजभोलि नर्सिङ धेरैको लागि आकर्षणको पेशा बनेको छ ।
नगद हस्तान्तरण गर्दै सामाजिक अभियान्ता कायस्थले नर्सिङ पेशालाई मर्यादित र सम्मानित रुपमा समाजले ग्रहण गर्ने प्रेरणा लिओस् भन्नाका खातिर सेवामा समर्पित उत्कृष्ट नर्सहरुको सम्मानका लागि यो सानो रकम समर्पण गरेको बताइन् ।
मेरी आमा र मेरो पिताको पुण्यतिथिमा विगतमा पनि विभिन्न मानवीय संस्थाहरुमा पुगेर यस्तै किसिमका सहयोग प्रदान गर्दै आइरहेकोमा यो पटक मानवीय संस्थाको पनि उच्च स्थानमा रहेको स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुप्रति समर्पित गर्न पाउनु मेरा लागि सौभाग्य भएको कायस्थले बताइन् ।
नगद ग्रहण गर्दै शीर मेमोरियल एडभेन्टिज अस्पतालका सिईओ डा. हेक्टर गाएरसले यस किसिमको मानवीय सेवाले अस्पतालमा कार्यरत नर्सहरुको सेवाप्रति लगनशीलता बढ्नुका साथै पेशाको सम्मान हुनेमा अस्पताल आशावादी रहेको बताएका छन् ।
सो हस्तान्तरण कार्यक्रममा नर्सिङ डाइरेक्टर उमा थापाले समाजले नर्सिङ पेशालाई पछिल्लो समय स्वीकार गरेको बलियो प्रमाणका रुपमा यो सहयोगलाई लिन सकिन्छ । यस किसिमको सहयोगबाट पेशाप्रति हामी नर्सहरु अर्झ कटिबद्ध, दायित्व बहन, जिम्मेवार र कर्तव्यनिष्ट भएर समर्पित हुने प्रेरणा मिलेको बताएकी छिन् ।