काभ्रे,बनेपा हेल्थ केयरले पोष्ट कोभिड क्लिनिकको थप ओ.पि.डि. सेवा सुचारु गर्ने भएको छ । बनेपा हेल्थ केयरले कोभिड संक्रमण मुक्त भइसके पश्चात स्वास्थ्यमा आउन सक्ने समस्या र त्यसबाट हुने जोखिमलाई मध्यनजर गर्दै पोष्ट कोभिड क्लिनकको थप ओ.पि.डि. सेवा सुरु गर्न लागेको हो ।
उक्त सेवा डा. रविन्द्र प्रसाद राजभण्डारीको टोलीबाट कोभिड संक्रमण मुक्त भएका व्यक्तिहरुलाई प्रदान गरिन बनेपा हेल्थ केयर प्रा.लि.का प्रबन्ध निर्देशक जितेन्द्र कुमार थापाले जानकारी दिए । उनका अनुसार कोभिड संक्रमण बाट मुक्त भए पनि धेरै व्यक्तिहरुलाई छाति भारी हुने, स्वास फेर्न गाह्रो हुने, थोरै हिड्दा पनि स्वां स्वां हुने, निद्रा नलाग्ने, टाउको दुख्ने, मानसिक समस्याहरु आउने जस्ता समस्याहरु देखिरहेका छन् । यस्ता समस्याहरुलाई समयमा नै व्यवस्थापन गरिएन वा बेवास्ता गरियो भने पछि झन् ठुलो समस्याहरु हुने कुरा चिकित्सकहरुले जानकारी गराउँदै आएकाले बनेपा हेल्थ केयरले पनि उक्त सेवालाई सुचारु गर्न लागेको निर्देशक थापाले बताए ।
कोभिड संक्रमित भई मुक्त भए पछि पनि स्वास्थ्यमा समस्या आएमा बनेपा हेल्थ केयरमा आएर पोष्ट कोभिड क्लिनिक ओ.पि.डि मा स्वास्थ्य जांच तथा परामर्श लिन सकिने उनले बताए । यस विषम परिस्थितिमा बनेपा हेल्थ केयरले चिकित्सक तथा कर्मचारीहरुलाई सम्पुर्ण स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित भएर सम्पूर्ण सेवाहरु निरन्तर रुपमा दिइरहेको उनले जानकारी दिए ।