काभ्रेमा एसपी जोशीको आगमन सँगै फरार हत्या  प्रतिवादी धमाधम पक्राउ पर्दै 

  •   २ वर्ष अघि | ७ माघ २०७८, शुक्रबार,    

काभ्रे । काभ्रेमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्र राज जोशीको आगमन भएसँगै वर्षौदेखि फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्लामा प्रहरी प्रमृुख जोशीको आगमनसँगै काभ्रेको च्यासिङ्गखर्कका एन्जलको हत्यामा संलग्न रहेका प्रतिवादीहरु धमाधम पक्राउ परेका छन् ।
एन्जलको हत्यामा संलग्न भएका अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । एन्जलको हत्यामा संलग्न रहेका बेथानचोक गाउँपालिका वडा नं ४ का ३३ वर्षीय निल बहादुर तामाङलाई आज (शुक्रबार) बिहान ८ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुर स्थित दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा निल बहादुर तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा पक्राउ गरिएको हो । एन्जलको हत्यामा संलग्न भएका तामाङ विगत ९ वर्षदेखि फरार रहेका थिए ।
२०६९ कात्तिक ८ गते चलालगणेशस्थान गा.वि.स वडा नं २ स्थित श्री गणेश नि.मा.विको सांस्कृतिक कार्यक्रममा च्यासिङ्गखर्क गा.वि.स वडा नं ९ र चलालगणेशस्थान गा.वि.स वडा नं ३ का मानिसहरुबिच भएको झडपमा च्यासिङ्गखर्क गा.वि.स वडा नं ९ का १८ वर्षीय एन्जल तामाङलाई निल बहादुर तामाङले पनि छुरा प्रहार गरी हत्या गरेका थिए ।
हत्या गरिएको अभियोगमा ईलाका प्रहरी कार्यालय बनेपबाट मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान पश्चात तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७४ असार १४ गते २० वर्ष कैदको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार अदालतको फैसलापश्चात फरार रहेका तामाङलाई खोजतलास गरी आज माघ ७ गते पक्राउ गरिएको हो । पक्राउ परेका पोतेलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको प्रहरीले जनाएको छ ।
कार्यालयले केही दिन अघि मात्रै एन्जलको हत्यामा संलग्न रहेका फौदे भनिने पोते तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिसकेको छ ।

थप