काठमाडौँ – लामो समयदेखि अनौपचारिक छलफलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच अन्ततः मध्यराति ७ बुँदे राजनीतिक समझदारी भएको छ। समझदारीअनुसार रास्वपा सभापति रवि लामिछाने पार्टीको केन्द्रीय नेतृत्वमा रहने र आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र शाह अगाडि सारिने भएका छन्।
सम्झौतामा भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले उठाएको आन्दोलनको आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय राष्ट्रमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्यसहित गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारहरू कार्यान्वयन गर्ने उल्लेख छ।
दुवै पक्षबीच बृहत् एकता भएपश्चात् पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, झण्डामा निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रंगको घण्टी रहने र चुनाव चिन्ह पनि घण्टी नै कायम रहने सहमतिमा उल्लेख गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकाभित्र रहनेछ।
समझदारी अनुसार पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहने र निर्वाचनपछि बालेन्द्र शाह संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत हुनेछन्। संगठनलाई थप सुदृढ र समावेशी बनाउन युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी तोकिने प्रावधानसमेत राखिएको छ।
आसन्न आमनिर्वाचनपछि यस सहमति अनुरूप पार्टीसम्बन्धी सबै विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने र घण्टी चुनाव चिन्हमा गोलबद्ध हुँदै अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि सहकार्यका लागि आह्वान गरिने उल्लेख गरिएको छ।
राजनीतिक वृत्तमा यो समझदारीलाई वैकल्पिक राजनीतिमा नयाँ ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।