निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

अव्यवस्थित पार्किङ गर्नेको सवारीमा ह्विल लक गर्दै :काभ्रे ट्राफिक

  •   ६ वर्ष अघि | २१ माघ २०७७, बुधबार,    

काभ्रे,अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमणले बनेपा बजारको सडक नै असुरक्षित बनाएको छ । अव्यवस्थित पार्किङका कारण पदैल यात्री र सवारी चालकले विगत लामो समयदेखि थुप्रै समस्या झेल्दै आएका छन् ।

सोही समस्यालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय काभ्रेले अव्यवस्थित पार्किङको व्यवस्थापनका लागि नयाँ अभियान सञ्चालन गरेको छ । कार्यालयले सडकमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारीलाई नियन्त्रणमा लिई ह्विल लक लगाउने कार्य सुरु गरेको छ ।
अव्यवस्थित पार्किङ गरिएका सवारीलाई ह्विल लक लगाउनुको साथै फुटपाथ अक्रिमण हटाउने कार्य पनि आजबाट सुरु भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले जानकारी दिए । उनका अनुसार सडकमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारीलाई व्यवस्थापन गर्न कार्यालयमा धेरै गुनासो आएतानि विविध कारण कार्यालयले यसको नियन्त्रण गर्न सकेको थिएन ।

स्थानीय तहको सहयोगपछि यस कार्यको शुभारम्भ भएको उनले बताए । यस कार्यका लागि बनेपा नगरपालिका वडा नं ८को विशेष सहयोग रहेको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार सडक सुरक्षाका लागि बनेपा न.पा. वडा नं. ०८ का अध्यक्ष दान बहादुर मानन्धर लगायतको सक्रिय सहभागीतामा ट्राफिक प्रहरी स्वयम सेवक गठन गरिएको छ । यसका साथै वडाले सवारी आगमन सहजताका लागि ट्राफिक कार्यालयलाई ह्विल–लक प्रदान गरेको कार्यालयका प्रमुख बिशाल तामाङले बताए ।

उनका अनुसार फुटपाथ अतिक्रमण गरी व्यवस्थित पार्किङ गरिएका सवारीलाई नियन्त्रणमा लिई सवारीमा ह्विल–लक लगाउने कार्य जिल्लामा पहिलो पटक सुरु गरिएको हो । सुरक्षित सडक र यात्रुको सुरक्षाका लागि जिल्ला ट्राफिक कार्यालयले विभिन्न कार्यक्रमहरुको योजना बनाइएको उनले बताए । ट्राफिक प्रहरीले आजबाट सुरु गरेको यस अभियानमा प्रहरीले ३ वटा गाडी र ७ वटा मोटरसाइकल गरी १० वटा सवारीलाई नियन्त्रणमा लिइ कारवाही गरिएको कार्यालयको जानकारी छ ।

थप