नेपाल प्रहरीमा डीएसपी सरुवाको तयारी, कहाँ-कसको चर्चा

  •   २ वर्ष अघि | २० साउन २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवाको तयारी थालेको छ ।

उपत्यकाको आकर्षक मानिने प्रहरी बृत्त र पहाडी जिल्लाका प्रहरी प्रमुखको एक वर्षे कार्यकाल पूरा भएपछि सरुवाको तयारी थालिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले आज (शुक्रबार) केही डीएसपीहरुको सरुवा, जनपद समुहतर्फ बढुवा भएका ३३ र प्राविधिक समुहतर्फ बढुवा भएका ९ डीएसपीहरुको पदस्थापन गर्ने तयारी गरेको छ ।

उपत्यकाको आकर्षक मानिने प्रहरी बृत्त लैनचौर (सोह्रखुट्टे) मा भेषराज रिजाल, हरि खतिवडा र उद्धवसिंह भाट लगायतको नाम चर्चामा छ भने दरबारमार्ग बृत्तमा हरि बस्नेत, नारायण अधिकारी, कोपिला चुडाँल र दिप्ती कार्कीको प्रतिस्पर्धा चलिरहेको स्रोतको दाबी छ ।

महाराजगन्ज बृत्तमा सुवास खड्का, सुगन्ध श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायतका डीएसपीहरु सरुवाको लागि दौडधुपमा लागेको  बुझिएको छ । मालीगाउँ बृत्तमा जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीको चर्चा छ । 

बौद्ध, बालाजु, गौशाला, नयाँबानेश्वर, जगाती र सिंहदरवार बृत्तको लागि डीएसपीहरु जागेश्वर भण्डारी, मनोज लामा, जयश्वर रिमाल, मन्जिल मुकारुङ, प्रकाश दाहाल, सुन्दर तिवारी, दीपककुमार राय, प्रेम शाही, दीपक श्रेष्ठ, प्रदिप बहादुर क्षेत्री, दीपक भारती र पुष्पराज मल्ल लगायतको नाम चर्चामा छ भने नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा सिआईबीका डीएसपी रोशन खड्काको सरुवा हुने बुझिएको छ ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट डीएसपी सन्जिव बाबु खड्काको नाम सिफारिस भएपनि जिल्ला प्रहरी कार्यालय संखुवासभाको लागि नेपाल प्रहरी प्रधान कार्यालयको लेखा शाखाका डीएसपी बिरेन्द्र गोदारको सरुवा हुने पक्कापक्की जस्तै छ । संखुवासभा नहुने भएपछि डीएसपी खड्कालाई जिल्ला प्रहरी कार्यालय भोजपुर पठाउने तयारी गरिएको छ । भोजपुरको लागि ललितपुर परिसरमा कार्यरत डीएसपी शरत कुमार थापा क्षेत्रीको नाम समेत चर्चामा छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डीएसपी मुकुन्द रिजालको सरुवा हुने बलियो सम्भावना छ ।

काठमाडौं उपत्यकाको बृतमा सरुवा नभए डीएसपी मन्जिल मुकारुङको जिल्ला प्रहरी कार्यालय खोटाङ सरुवा हुने सम्भावना देखिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको लागि डीएसपी रबिन्द्र पौडेल र गणेश बमले राजनीतिक लबिङ तिब्र पारेको बुझिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले भने लामो समयदेखि कर्मचारी प्रशासन शाखामा बसेर संगठनको लागि थुप्रै काम गरेका डीएसपी होमबहादुर पराजुलीलाई पठाउन चाहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा बाँकेका डीएसपी मधुसूदन न्यौपानेको सरुवा हुने पक्कापक्की जस्तै छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी सिद्धराज न्यौपानेलाई पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को पिएसओ मा सरुवा गरिएपछि उक्त जिल्ला पनि नेतृत्वबिहिन छ । ईलाका प्रहरी कार्यालय तुल्सिपुर दाङका डीएसपी श्यामु अर्यालको एकवर्षे कार्यकाल पूरा भईसकेको छ भने ईलाका प्रहरी कार्यालय सुख्खड कैलालीका डीएसपी लक्ष्मण शाही आफैले सरुवा मागेका छन् ।

डीएसपी सरुवा पश्चात खाली हुने स्थानमा नवनियुक्त ३३ डीएसपीहरूको पदस्थापन हुनेछ ।

थप