निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रेमा ४ वटा नवनिर्मित प्रहरी ईकाई भवनको उद्घाटन कार्यक्रम सम्पन्न

  •   ६ वर्ष अघि | २९ चैत्र २०७७, आइतवार,    

काभ्रे, जिल्लाका ४ वटा नवनिर्मित प्रहरी ईकाई भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित भवनहरु मध्ये ४ वटा प्रहरी ईकाईहरुको समुद्घाटन सम्पन्न भएको हो ।

जिल्लाको पाँचखाल नगरपालिका वडा नं १३ स्थित तिमालबेशीमा २ करोड २६ लाख ६० हजार ९ सय ३९ रुपैँयाको लागतमा निर्मित भवन, महाभारत गाउँपालिकाको वडा नं ४ स्थित फोक्सिङ्गटारमा २ करोड २८ लाख ३१ हजार ७ सय २८ रुपैँयाको लागतमा निर्मित भवन, सोही गाउँपालिकाकै वडा नं १ स्थित गोकुलेमा २ करोड ३४ लाख २४ हजार ९ सय ३३ रुपैँयाको लागतमा निर्मित भवन र खानीखोला गाउँपालिका वडा नं ५ स्थित तालढुङ्गामा २ करोड २२ लाख ३७ हजार ७ सय ८६ रुपैँयाको लागतमा निर्मित भवनको समुद्घाटन भएको हो ।

उक्त भवनहरुको चैत्र २६ र २७ गते बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । प्रहरी ईकाई भवनहरुको निर्माणका लागि २०७६ साल जेष्ठ १७ गते सम्झौता भएको थियो । सम्झौता भएका ६ वटा प्रहरी ईकाईहरु मध्ये प्रहरी चौकी फलाटेको गत मंसिर १४ गते समुदघाटन सम्पन्न भई सकेको जिल्ला प्रहरी कार्यालय काभ्रेको जानकारी छ । कार्यालयका अनुसार बिकट भौगोलिक बनावटका कारण प्रहरी चौकी फलामेटारको निमार्ण कार्य अन्तिम चरणमा रहेको छ ।

कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख ज्ञानदिप राईले प्रहरीलाई क्रमश आधुनिकिकरण गर्दै जाने योजना अनुरुप पहिलो चरणमा यी ६ वटा प्रहरी ईकाई मध्ये ५ वटा समुद्घाटन सम्पन्न भएको जानकारी दिए । उनका अनुसार दोश्रो चरणमा २ वटा ईलाका प्रहरी कार्यालय देबिटार र ईलाका प्रहरी कार्यालय बनेपाको भवनहरु निमार्णाधिन अवस्थामा रहेको छ । त्यस्तै तेश्रो चरणका लागि प्रहरी चौकी साँगा तथा प्रहरी चौकी भकुण्डेबेशीको टेण्डर प्रक्रियामा रहेको र तुरुन्त निर्माण प्रारम्भ हुने उनले बताए ।

उक्त अवसरमा निर्माण सम्पन्न भएका प्रहरी ईकाईहरुको लागि निशुल्क रुपमा जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई दोसल्ला सहित कदर पत्रद्धारा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सम्बन्धित पालिकाका जनप्रतिनिधीहरु, बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका स्थानिय प्रतिनिधि, नागरिक समाज लगायतको उपस्थितीमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।

थप