काभ्रे, जिल्ला रोशी गाउँपालिका वडा नं.–३ भित्रका विद्युत प्रसारणमा उच्च जोखिम देखिएको छ ।
शिखर आम्बोटे विद्युतिकरण समूहको चरम लापरवाही गरेको कारण सो क्षेत्रमा प्रसारित विद्युत लाईनहरु उच्च जोखिम रहेको खुल्न आएको हो ।
त्यस क्षेत्रमा जडित अधिकांश लोड सेन्टरको टि.ओ.डी. मीटर बाकस बिग्रिएको र केही लोड सेन्टरको मिटरहरु समेत परिवर्तन गर्नुपर्ने अवस्था रहेको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ । विद्युत उपभोग गर्दै आएका उपभोक्ताहरुमार्फत शुल्क संकलन गरेता पनि प्राधिकरण शाखामा रकम नबुझाएका कारण त्यस क्षेत्रमा समस्या आएपनि समाधानको लागि अग्रसर नभएको बताएको छ ।
शिखर आम्बोटे विद्युतिकरण समूहले नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण विनियामवली (२०६९) तथा सामुदायिक ग्रामिण विद्युतिकरण विनियामवली २०७१ बमोजिम नियमित रुपमा भुक्तानी गर्नुपर्ने विद्युत महशुल नबुझाएको र हरेक वर्ष गर्नुपर्ने संस्था नविकरण समेत हालसम्म नगरेको भन्दै काभ्रे वितरण केन्द्र बनेपाले १५ दिने सूचना समेत सार्वजिक गरेको छ ।
स्थापना समयदेखि हालसम्म बाँकी वक्यौता रकम रु. २१०५५६१।३३ बुझाउनुपर्नेमा शिखर आम्बोटे विद्युतिकरण समूहका पदाधिकारीहरुले सो रकमको दुरुपयोग गरेको खुल्न आएको छ । जनताबाट उठाएको रकम व्यक्तिगत स्वार्थ लाभका लागि प्रयोग गरेको भन्दै स्थानीय जनस्तरबाट व्यापक आवाज उठिरहेको छ । उक्त समूह सोही वडाका वर्तमान वडा अध्यक्ष धनजीत लामाको अध्यक्षतामा स्थापना भई हाल पूर्ण सिंह लामाको अध्यक्षतामा सञ्चालित छन् ।