डिआइजी रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासंग्रह लोकार्पण

  •   ४ महिना अघि | १४ पुस २०८०, शनिबार,     मणिराम दाहाल

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डिआइजी ) रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासंग्रह शनिबार लोकार्पण गरिएको छ । 


नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहबीच कथा संग्रह लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा सम्बर्धनमा क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धीत रहने चर्चा गर्दै नागरिक सेवामा खटिँदा देखे भोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपूर सुगन्ध पस्केको उल्लेख गर्नुभयो । नेपाल प्रहरीका अग्रज सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासङ्ग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।  

उक्त अवसरमा डा.धुर्ब चन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्यकर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गर्नुभयो । साथै राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । 

उक्त कथासङ्ग्रहको प्रकाशक संस्था शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा कथासङ्ग्रहका सर्जक प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू,  साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

थप