निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

अध्यक्ष डिवि लामाले गरे तिनधारे झरना संरक्षणको लागि बहुबर्षिय ठेक्का सम्झौता

  •   ५ वर्ष अघि | ५ साउन २०७८, मङ्लबार,    

काभ्रे ,   जिल्लाको रोशी गाउँपालिका वडा नं २ मा रहेको प्राकृतिक तिनधारे झरना संरक्षणको लागि बहुवर्षिय ठेक्का सम्झौता भएको छ ।

गाउँपालिकाको कार्यलयमा प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको रोहबरमा पालिका अध्यक्ष डि.बि. लामा र कम्पनीका प्रतिनिधि सनत आचार्य बिच ठेक्का सम्झौता भएको हो ।

५ करोड लागत अनुमान गरिएको उक्त योजनाको २ करोड ८० लाखमा सगुन ईनोभेटिभ जेभी सँग ठेक्का सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए । २ वर्ष भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनामा गाउँपालिकाले ३० प्रतिशत र केन्द्र सरकारले ७० प्रतिशत बजेट बिनियोजन गरेको उनले जानकारी दिए । उनका अनुसार तिनधारे संरक्षण योजना अनुरुप उक्त कम्पनीले काम गर्नेछ । सम्झौता अनुसार तिनधारे क्षेत्रमा सार्वजनिक शौचालय, रेलिङ, चेन्जीङ रुपम, पैदल मार्ग, खहरेपाँगु देखि झरना जाने मोटर बाटो स्तरोन्नती लगायतका काम गरिनेछ ।

गतबर्ष देखि चर्चामा रहेको तिनधारे झरना संरक्षण गर्न सकेमा पर्यटकहरुको आकर्षकको बिन्दु बन्ने उनले बताए । ‘सम्पदाको संरक्षणमा ध्यान दिएमा गाउँपालिकाद्वारा संचालित होम स्टेबाट आय आर्जनमा वृद्धि हुने, पार्कीङ लगायत अन्य व्यवसायबाट गाउँपालिकाको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौँ’ दाहालले भने । झरना संरक्षणमा प्रदेश र केन्द्रबाट थप बजेट प्राप्त भएको उनको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले तिन धारे झरना रोशी गाउँपालकाको मात्रै नभई काभ्रे जिल्लाकै सम्पत्तीको रुपमा लिएको बताए । रोशी गाउँपालिकामा अन्य थुप्रै पर्यटकिय क्षेत्र रहेको बताउँदै उनले भने ‘तिनधारे झरनाले पछिल्लो समय पर्यटकको मन लोभ्याउन सफल भएको छ, सम्पदाको संरक्षणमा ध्यान नदिए लोप हुँदै जान्छ, त्यसैले यसको संरक्षणमा गाउँपालिका एक चित्त भई लागेको छ ।’ निर्माण कम्पनीका प्रतिनिधि सँग सम्झौता गर्दै अध्यक्ष लामाले तोकिएको समय सिमा भित्र काम सम्पन्न गर्न शुभकामना साथै अनुरोध गरे ।

रोशीलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउन सहयोग गर्ने सबै निकायलाई अध्यक्ष लामाले धन्यवाद दिए । साथै झरना संरक्षणका लागि सरोकारवाला सबैले समन्वय गरी बहुवर्षिय योजना सम्पन्न गर्न सहयोग गरिदिन पनि आग्रह गरे ।

थप