धुलिखेल । धुलिखेलमा आयोजना हुन लागेको विश्व युवा सम्मेलन जिसस प्रमुख पक्राउ परे सँगै महोत्सव अब सानो स्केलमा सम्पन्न गरिने भएको छ । जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलाञ्चोक द्वारा आयोजित महोत्सव जिसस प्रमुख दीपक गौतम पक्राउ परेपछि स्थगित हुने चर्चा चलेको थियो । तर, प्रमुख गौतमले कार्यक्रम पूर्ण रूपमा रोक्ने होइन, सानो स्तरमा सम्पन्न गर्ने निर्देशन दिएको आयोजक समितिले जनाएको छ।
महोत्सव काठमाडौं विश्वविद्यालय, धुलिखेल मा आयोजना गरिँदैछ । विभिन्न देशका युवा सहभागिहरू यसअघि नै महोत्सवका लागि धुलिखेल आइपुगेका छन् र विभिन्न होटलमा बसेका छन् ।
उक्त कार्यक्रमको अघिल्लो दिन प्रमुख गौतमलाई चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ गरिएको थियो । उनी हाल हिरासतमा छन् र बिहीबार बिहान रिहा हुने स्रोतले जानकारी दिएको छ ।