दुर्गमका विद्यार्थीले पाए सहयोग

  •   २ हप्ता अघि | २४ बैशाख २०८१, सोमवार,     मणिराम दाहाल

काभ्रे । समाजसेवा गर्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् काभ्रे र भक्तपुरका युवाहरु । सिमान्तकृत समुदायका विद्यार्थी पढ्ने विद्यालयमा स्टेशनरी, पुस्तक, मनोरञ्जन गर्न पिङ र खेल्न खेलकुद सामाग्रीको आवश्यकता रहेको जानकारी पाएपछि काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका समाजसेवी युवाहरुको प्रयासमा अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।


काभ्रेपलाञ्चोक जिल्लाबाट करिब ६ सय किलोमिटर टाढा पुगेर भक्तपुरका रोशन केसी, नमोबुद्ध नगरपालिकाका परीक्षण हुँमागाई, बेथानचोक गाउँपालिकाका सुरज श्रेष्ठको अगुवाईमा संखुवासभाका जिल्लाको खादबारी नगरपालिका वडा नं ३ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । खादबारीका शुसिलजङ्ग कार्की र शिक्षक वेदराज घिमिरेले समन्वय गरेपछि सो स्थानमा पुगेर शैक्षिक सामाग्री हस्तान्तरण संम्भव भएको हो ।


विद्यार्थीका लागि आवश्यक शैक्षिक सामाग्रीको जोहो गर्न सहयोग भने लायन्स क्लब अफ काठमाडौं(इन्द्रेश्वर ३२५ आई नेपाल) का अध्यक्ष रामप्रसाद ढकाल (आरडी), भकुण्डेका युवा व्यवसायी समाजसेवी विकास खनाल, पाँचखाल खाँवाका महिला उद्यमी मनिषा श्रेष्ठ र रश्मी रंजितकारले सहयोग गरेका हुन् ।


सो कार्यमा काठमाडौंका लक्ष्मी श्रेष्ठ, अस्मिना गिरी, सन्तोषी दीक्षित खनालले भुमिका निर्वाह गरेका थिए । स्वास्थ्यकर्मी सुरक्षा श्रेष्ठ, संचारकर्मी मणिराम दाहाल र अरबिन्द्र गौतमसँगै कुक प्रशिक्षक मोहन गजुरेल, भुम्लु गाउँपालिकाको पूर्व उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठ, आर्शु स्मृति प्रतिष्ठानका रुपेश काफ्ले, बर्दी तिमल्सिना, नेपाली कांग्रेसका नेता सुधिर वैद्य र संगम थापाले सहयोग गरेका थिए ।


सहयोग सबै विद्यार्थीका लागि व्यवस्थापन गरिएको थियो । विद्यालयमा अध्ययरत कूल ३७६ विद्यार्थीलाई नै स्टेशनरी हस्तान्तरण गरिएको थियो । कक्षा ६ देखि ८ सम्मका१४० जना विद्यार्थीलाई ट्राकसुट हस्तान्तरण गरिएको थियो । विद्यालयका लागि आवश्यक रहेको फलामको पिङसँगै कम्युटर तीन वटा सेट, क्यामरबोर्ड तीन सेट, बल नेट व्याटमिन्टन, सानो कक्षाका लागि सम्पुर्ण बिषय भएको पढ्ने चार्ट हस्तान्तरण गरेको परिक्षण हुमागाईले जानकारी दिए । सामाग्री संकलनमा भुमिका निर्वाह गर्नुहुने ईश्वर लामिछाने र राजकुमार कोइरालाको उपस्थितीमा सो सामाग्री हस्तान्तरण गरिएको हो ।


विद्यालयमा अत्यावश्यक औषधि र तत्कालका लागि खाजा र बिस्कुटको समेत व्यवस्थापन गरिएको थियो । युवाहरुको समुहले पाँच लाख रुपियाँभन्दा धेरै खर्च गरेर शैक्षिक सामाग्री हस्तान्तरण गरेपछि विद्यालयको शैक्षिक स्तर उकास्न सहयोग हुने प्रधानाध्यापक युवराज खत्रीले उल्लेख गरे । उनले कक्षा ८ सम्म अध्ययन हुने सो विद्यालयमा आवश्यक परेको सहयोग आगामी दिनमा समेत सहयोग हुने आशा व्यक्त गरे । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिकाको उपाध्यक्ष महेश्वरा बज्रचार्यले आफ्नो स्थानीय तहमा शैक्षिक अवस्था सुधार्न युवाहरुले गरेको सहयोग निक्कै प्रशंसनीय रहेको बताए ।


विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुनिता कटुवाल कार्कीले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आफूहरुले प्रयास गर्ने बताईन् । पढाईका लागि शैक्षिक सामाग्री आवश्यक पर्ने भएकाले सो सामाग्रीले पढाईको स्तर उकास्न भुमिका खेल्ने उनको भनाई थियो ।

आफ्नो विद्यालयमै आएर शैक्षिक सामाग्री, खेल्न पिङ बल र नेट पाएपछि विद्यार्थीपनि औधी खुसी भएका छन् । एउटै रङ्गको ट्राक सुटसँगै अरु सामाग्री पाएपछि अध्ययनमा सहयोग पुग्ने विद्यार्थी सोनिका तामाङले भनिन् । उनले यसअघि सामान्य सहयोग पाएपनि पहिलो पटक यत्तिको ठूलो सहयोग पाएपछि पढ्न हौसला मिलेको उनको भनाई थियो । आफ्नो समुदायमा बिचमै पढाई छाड्नेको संख्या धेरै भएपनि आफूले भने उच्च शिक्षासम्म पढ्ने लक्ष्य लिएको बताउँदै यस्ता सहयोगले अध्ययनमा थप मनोवल बढ्ने उनले बताईन् । यसअघि युवाको टोलीले विविध सामाजिक कार्यहरु गर्दै आएका छन् ।

थप