गफका ‘सेलिब्रेटी’ महेश खरेल : गफमात्रै बढी, काम खोई ?

  •   २ वर्ष अघि | २२ बैशाख २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

पाँचखाल– पाँचखाल नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् महेश खरेल । उनको परिचय यत्तिमा मात्रै सीमित छैन, सामाजिक सञ्जालमा उनी सेलिब्रेटी मेयर भनेर पनि चिनिन्छन् । उनी सेलिब्रेटी बनेको चाहिँ कामका कारण होइन, बेलाबेलामा गर्ने राजनीतिक ‘स्टन्ट’ र हल्लाखल्लाका कारणमात्रै हो ।
खरेल २०७४ सालको स्थानीय तह निर्वाचनमा जसरी गफ दिएर निर्वाचित भएका थिए, सो अनुसारको काम हुन नसकेको अनुभूति गरेका छन् पाँचखाल नगरबासीले । अहिले दोस्रो कार्यकालका लागि पनि खरेल नगर प्रमुख पदको उम्मेदवार बनेका छन् । फेरि चुनावी अभियानमा गफको पोको बोकेर कुदिरहेका खरेललाई मतदाताले भने, अघिल्लोपटक गरेका बाचा पुरा नगरेको भन्दै पाँचखालले नयाँ नेतृत्व खोजिरहेको सन्देश दिएका छन् ।
पाँचखाल नगरपालिका कृषि उत्पादनमा मुलुककै अग्रणी क्षेत्र हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् तर खरेलले पाँच बर्षका लागि कृषि क्षेत्रका लागि कुनै काम गर्न सकेनन् । कृषियोग्य भूमिमा ठडिएका इँटाभट्टाहरुले कृषि शहर पाँचखाल नगरको नारालाई समेत गिज्याइरहेको छ । खरेलले निर्वाचित भएपछि पाँचखालमा अब कुनै इँटा भट्टा स्थापना नहुने र भएका भट्टासमेत हटाइने बाचा पटकपटक गरे । नागरिक अनलाइनमासमेत २०७६ जेठ ११ गते प्रकाशित उनको  अन्तवार्तामा उनले भनेका थिए,  ‘यस विषयमा हामीले गम्भीर चासो दिएका छौं । अब यसै वर्षदेखि हामीले यो समस्या हल गर्न लागिपरेका छौं । यहाँ संक्रमणकालमा फाइदा उठाएर इँटाभट्टा सञ्चालन गरिएको रहेछ । हामी आउनुपूर्व नै यहाँ भट्टा चलिरहेका थिए । म आएपछि कुनै इँटाभट्टा सञ्चालनको स्वीकृति दिएको छैन र दिन्न पनि। आगामी वर्षदेखि इँटाभट्टा बन्द हुन्छन् । वातावरण मन्त्रालयमा गएर यहाँको समस्या राखिसकेका छौैं, पत्र बुझाईसकेका छौं । यससम्बन्धी ऐन पनि पास भएको छ । व्यवसायीले मापदण्डविपरीत यहाँ लामो समयदेखि भट्टा सञ्चालन गरिहेका थिए । अब यहाँका भट्टा व्यवस्थित हुन्छन्। मापदण्ड विपरीतका सबै भत्किन्छन्। नयाँ भट्टा खोल्न दिन्नौं ।’ हेर्नुस् अन्तवार्ता
खरेलले सार्वजनिक कार्यक्रममै अव पाँचखालबासी धुवाँधुलोबाट मुक्त हुने घोषणा गरेका थिए । तर, खरेलको घोषणा र प्रतिवद्धता प्रतिवद्धतामै सीमित रहेको छ अहिलेसम्म पनि । उनी आउनुअघि पाँचखालमा सातवटा इँटा उद्योग रहेकोमा एउटा थपिएर आठवटा बनेको छ । खरेल निर्वाचित भएर आएपछि सुवर्णेश्वरी इँटा उद्योग स्थापना भएको छ । पाँचखाल नगरपालिका वडा नं. ७, ८, ९ र १२ मा रहेका इँटा उद्योगले वातावरण प्रदुषित त भएकै छ, यसले स्थानीयबासीको स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको छ ।  स्थानीय सांस्कृतिक अभियन्ता श्रीकृष्ण धिमाल इँटा उद्योगका कारण यो क्षेत्रको पुरातात्विक सम्पदासमेत मासिएको बताउँछन् । स्थानीयबासीले इँटा उद्योगका कारण परेको वातावरणीय असर, पुरातात्विक सम्पदाको नाश लगायतका समस्या लिएर ती उद्यागे वन्द गराउन सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन् । उक्त रिटमा पाँचखाल नगरपालिका, वडा नं. ७, ८, ९ र १२, ती वडामा सञ्चालित इँटा उद्योग, वातावरण विभाग तथा पुरातत्व विभागलाई समेत विपक्षी बनाइएको छ ।
पुरातत्व विभागले २०७६ मंसिर २७ गते जिल्ला प्रशासन कार्यालय काभ्रेलाई पत्र लेख्दै पाँचखाल नगरपालिका ७ मा अनुमतिविना खनजोत गर्न रोक लगाउन भनेको थियो । जिल्ला प्रशासन कार्यालयले सोही बमोजिम गर्न पाँचखाल नगरपालिकालाई पत्राचारसमेत गर्यो । तर, नगर प्रमुख खरेलले त्यसलाई बेवास्ता गरे, जसका कारण अहिले पनि उक्त क्षेत्रमा निर्वाधरुपमा इँटा भट्टा चलिरहेका छन् । पाँचखालमा रहेको एउटा इँटा उद्योग भगवती ब्रिक फ्याक्टी« मा खरेलले अप्रत्यक्षरुपमा लगानीसमेत गरेको स्थानीयबासीको आरोप छ । स्थानीयबासीले खरेलको सेलिब्रेटी फण्डा बुझेरै होला यसपटक नयाँ नेतृत्वको चाहना राखेका छन् ।
नेकपा एमालेबाट पाँचखाल नगरपालिकामा प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारी पाँचखालका जनताले नयाँ नेतृत्वको चाह गरेको बताउँछन् । आफूहरुको घरदैलोको क्रममा अधिकांश मतदाताले पछिल्लो पाँच बर्षमा पाँचखालबासीले अनूभूति हुने गरी कुनै काम गर्न नसकेका कारण अब नयाँ नेतृत्वको आवश्यकता औंल्याएको अधिकारीको भनाई छ । पाँचखालमा आएको विशेष आर्थिक क्षेत्र होस् या मदन भण्डारी विश्वविद्यालय या सुनकोशी पाँचखाल खानेपानी आयोजना नै किन नहोस्, यो निर्माणमा नगरपालिकाको कुनै हिस्सेदारी देखिन्न । नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका पूर्वमन्त्री, काभ्रे क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटा, पाँचखालका युवा नेता कञ्चन अधिकारी लगायत नेकपा एमालेका नेता कार्यकर्ताको मेहनत र जोडबलमा आएको मदन भण्डारी विश्वविद्यालय आफ्नो पहलमा आएको भन्दै झुट बोल्न समेत पछि नपरेका खरेल अहिले एमालेको सरकारका आएका आयोजनाको नाम बेच्दै मत मागिरहेको आरोप एमालेका नेताहरुले लगाएका छन् ।

खोई त स्थानीय पाठ्यक्रम ?
पाँचखाल नगरपालिकामा दनुवार समुदायको बसोबास बढी भएको नगरपालिका हो । यहाँका दनुवार समुदायले स्थानीय भाषाको पाठ्यक्रम निर्माणका लागि पटकपटक नगरपालिकालाई आग्रह गरे । निवर्तमान नगरप्रमुख खरेलले दनुवार समुदायको बसोबास बढी रहेको क्षेत्रका विद्यालयमा दनुवार भाषामा, होक्से लगायत तामाङ समुदायको बसोबास रहेको क्षेत्रका विद्यालयमा तामाङ भाषाको पाठ्यक्रम बनाउने प्रतिवद्धता जनाए । तर, अहिलेसम्म पनि उनको प्रतिवद्धता गफमै सीमित भएको छ । पछिल्लो समय मुलुकका अधिकांश स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण थालिसकेका छन्, कतिपय स्थानीय तहमा स्थानीय भाषाको पाठ्यक्रममा पढाईसमेत सुरु भइसकेको छ । तर, पाँचखालबासीका लागि भने यो अहिलेसम्म सपनामै सीमित भएको छ ।
स्थानीय भाषाको  पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा नल्याउने हो भने आफ्नो भाषा संस्कृति नै लोप हुने अवस्थामा पुग्ने स्थानीय दनुवार समुदायका अगुवाहरुको भनाई छ । दनुवार समुदायकी लक्ष्मी दनुवार यसअघि नेपाली कांग्रेसबाट उम्मेदवार बन्दै पाँचखाल नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् । तर, उनले समेत आफ्नो समुदायको उन्नति, भाषा कला र संस्कृतिको संरक्षणमा कुनै काम गर्न नसकेको स्थानीयको आरोप छ ।

थप