इजरायलमा मारिएका युवाको घर-घरमा पुगे सीडीओ, पीडित परिवारले यसो भने

  •   ७ महिना अघि | २२ असोज २०८०, सोमवार,     एक्टिभ मिडिया संवाददाता


काठमाडौ । इजरायलमा भएको हमासको हमलामा निधन भएका १० जनाकै घरपरिवारले सरकारसँग चाँडै आफ्ना सन्तानको शव घरमै ल्याइदिन आग्रह गरेका छन् । विभिन्न सात जिल्लाका १० जनाको निधन भएका परिवारका सदस्यलाई सोमबार भेट्न पुगेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे (सीडीओ) समक्ष आफ्ना सन्तानको शब घरैमा घरमा ल्याइदिन अपील गरेका हुन् ।


उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार साँझ सातवटै प्रमुख जिल्ला अधिकारीलाई सोमबार इजरालमा निधन भएका नेपाली युवाको घरमा पुगेर सान्त्वना दिन निर्देशन दिए । त्यसपछि सातवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी निधन भएका व्यक्तिको घरमै पुगेका गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायण भट्टराईले  जानकारी दिए ।

इजरायलमा निधन भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ का आनन्द साहका परिवारलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे नेतृत्वको टोलीले भेटेर सान्त्वना दिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेसँग उनको परिवारले मुख हेर्न भए पनि आनन्दको शव ल्याइदिन गुहार गरे ।

सीडीओसँग आनन्दका बुवा सोमनले भने, ‘छोरा मेरो सर्वस्व थियो । उनको मुख हेर्न भए पनि शव ल्याउन पहल गरिदिनुस् ।’ गाउँ र उनको परिवार शोकमा सीडीओ पाण्डे पनि भावुक बने । पाण्डेले शव ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएको बताए  ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार कृषि तालिमका लागि इजरायल गएको २४ दिनमै आनन्दको निधन भएको हो । उनी एक्लो छोरा थिए । उनका तीन बहिनीमध्ये जेठी सुनिताको विवाह भइसकेको छ । आनन्दले आफू कमाउने भएपछि दुई बहिनीको बिहे गर्ने र घर पनि बनाउने सपना परिवारमा बाँडेका थिए । दाइको मृत्युको खबरले तीनै बहिनी, आमा र बुवा विक्षिप्त छन् ।

आइतबारदेखि घरमा चुलो बलेको छैन । रुँदारुँदै कमजोर भएका बहिनी सरस्वती र आरती अस्पताल भर्ना भएका छन् । आनन्दको पढाइमा करिब ३० लाख रुपैयाँ खर्च भएको बुबा सोमनले सुनाए । ‘पढाउन खेत पनि बेचें । साहुबाट ऋण पनि लिएको छु । छोराले कमाएपछि घर बनाउने भनेको थियो । अब कसले घर बनाइदिन्छ ?’

डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जिल्लाबाट इजरालयमा निधन भएका दुई जनाका परिवारलाई भेटेर दु:ख व्यक्त गरेका छन् । जिल्लाको आदर्श गाउँपालिकाका पदम थापा र शिखर नगरपालिकाका राजन फुलाराका परिवारलाई भेटेर सान्त्वना दिएर फर्किएको  बताए ।

उनले भने, ‘आदर्श गाउँपालिकाका पदम थापाको बुवा आमा बिरामी हुनुहुँदो रहेछ । उहाँको दाई पालिकाकामा कर्मचारी भएकाले उहाँले घरमा सुनाउनुभएको रहेछन् । हाम्रो टोली गइसकेपछि दु:खद खबर सुनायौ र दु:ख व्यक्त गर्यौं । अर्को निधन हुनुभएका शिखर नगरपालिकाका राजन फुलारा एक्लो छोरा हुनुहुँदाेरहेछ । घरमा बुबा आमा र हजुरआमा हुनुहुन्छ । हामीले जतिसक्दो चाँडै सरकारले शव नेपाल ल्याउने पहल गरिरहेको जानकारी गरायौ । परिवारले शव आफ्नै घरसम्म पुर्यादिन आग्रह गर्नुभयो । हामीले सकेसम्म घरैसम्म पुर्याउने प्रतिवद्धता जनाएर फर्कियौ ।’

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले पनि जिल्लाको मालिकार्जुन गाउपालिका वडा नम्बर ४ लोकेन्द्रसिंह धामी र लेकम गाउँपालिका–५ का दिपेशराज बिष्टका परिवारलाई सान्त्वना दिएर फर्किएकी छन् । उनका अनुसार निधन भएका दुवै जनाका परिवारले राज्यले चाडै शव घरमा पुर्याइदिन आग्रह गरेको  बताइन् ।

उनले भनिन्, ‘उहाँहरुको एउटै चाहाना अब आफ्ना सन्तानको शव भए पनि हेर्ने धोको छ । त्यहि आग्रह गर्नुभयो । जतिसक्दो चाडै शब ल्यादिन आग्रह गर्नुभयो । हामीले पनि पहल गरिरहेका छौ भनेर फर्कियौ ।’

जोशीका अनुसार निधन भएका लोकेन्द्रको श्रीमतीसँगै एउटा छोरा र एउटा छोरी रहेको श्रीमती र छोरा छोरी सानै भएकाले राज्यले व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ । यता दिपेशको भने बाबु निधन भइसकेको र उनी जेठो छोरा र अर्को भाई सानै रहेको उनले बताईन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि इजरालयमा निधन भएका घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र जोशीपुरका आशिष चौधरीको परिवारलाई भेटेर सान्त्वना दिएका छन् ।

उनका अनुसार नायाणको आमा बुवा रहेको आर्थिक अवस्था कमजोर भएका कारण ऋण गरेर पढाइरहेका थिए भने आशिषको परिवारको पनि आर्थिक अवस्था कमजोर रहेको, आमा बुवाले ऋण गरेर पढाएका हुन् । आशिषका आमा बुवा भारतको बैंग्लोरमा बसेर रोजगारी गरिरहेका र घटना भएको जानकारी पाएपछि घर फर्किरहेको छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि बराहक्षेत्र नगरपालिका–११ का राजेशकुमार स्वर्णकारका परिवारलाई सान्त्वना दिएर फर्किएकी छन् । उनका अनुसार २७ दिनअघि इजरायल गएका २६ वर्षीय राजेशको मृत्युको खबरपछि परिवार शोकमा रहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसमा कृषिमा स्नातक आठौँ सेमेस्टर सकेर इन्टर्नसिपका लागि इजरायल गएका बेला निधन भएकोमा परिवार शोकाकुल रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो  ।

उनले भनिन्, ‘राजेश चार दाजुभाइमध्ये साइँलो छोरा हुनुहुँदाे रहेछ । सानैदेखि मिहिनेती, लगनशील र कर्मठ हुनुहुन्थयो र भदौ २४ गते मात्रै इजरायल जानुभएको रहेछ । राजेश ११ महिनाको इन्टर्न सकेपछि काममा लाग्ने योजनामा हुनुहुँदो रहेछ । कृषि क्षेत्रमा सक्रिय भएर देशकै लागि केही गर्ने सोचाइ उहाँको रहेछ । अन्य युवा विदेश पलायन भइरहेका बेला राजेश भने देशमै केही गर्ने योजनामा हुनुहुदोँ रहेछ । त्यस्तो घटनामा परेर निधन भयो ।’ परिवारलाई भेटेर चाँडै शव नेपाल ल्याउनका लागि पहल गर्ने प्रतिवद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताईन ।


सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले पनि जिल्लाको शारदा नगरपालिका तीनका प्रवेश भण्डारीको परिवारलाई भेटेर दुख व्यक्त गरेका छन् । उनका अनुसार प्रवेश परिवारको एक्लो छोरा थिए । उनका परिवारले पनि जतिसक्दो चाडै शब घरमै पुर्यादिन आग्रह गरेको र आफुले प्रयास गर्ने प्रतिवद्धता जनाएको खड्काले बताए ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे भने इजरालमा निधन भएका जयपृथ्वी नगरपालिका–६ बझाङका गणेशुकुमार नेपालीको परिवारलाई भेट्न पुगेका छैनन् ।

उनले गृह मन्त्रालयबाट यस बारेमा आफुलाई र आफ्नो कार्यालयलाई कुनै पनि जानकारी नआएको नेपाल प्रेससँग बताए । उनले भने, ‘मलाई यस बारेमा जानकारी आएको छैन । बझाङमा पछिल्लो समय भूकम्पका कारण समस्या भएको र त्यसैमा व्यस्त छु । मन्त्रालयबाट कुनै निर्देशन वा जानकारी आएमा पालना गर्नेछु ।’

नेपाल प्रेस बाट साभार  

थप