११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना

  •   २ वर्ष अघि | २३ फाल्गुन २०७८, सोमवार,    

काभ्रे । अन्तर्राष्ट्रिय नारी दिवस-अंग्रेजीमा International women's day) महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । यस दिवस राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फ्रेबुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फ्रेबुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोसलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फ्रेबुअरी १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फ्रेबुअरीको अन्तिम आइतबारको दिन मनाउन थालियो । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकार कतिपय देशहरूमा थिएन । १९१७ मा रसियाको महिलाहरूले महिला दिवसमा गाँस र कपासको लागि हड्तालमा जाने निर्णय गरे । यो हड्ताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो । त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरैजसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । यी दुई दिनमा केहि फरक छ । जुलियन क्यालेन्डर अनुसार १९१७ को फ्रेबुअरीको अन्तिम आइतबार २३ फ्रेबुअरीमा पर्दथ्यो । जबकी ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूपमा मनाइन थालियो । संयुक्त राष्ट्र संघको निर्णयअनुसार सन् १९०९ -वि=सं= १९६६) देखि संसारका महिलाहरूमा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालिएको हो । सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकोमा सन् १९१४ देखिमात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ मा मनाइने गरी निश्चित मिति तोकिएको हो । नेपाली पञ्चाङ्गअनुसार यो दिवस फागुन २४ वा २५ गते पर्छ । यसरी संसारका धेरै देशले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि=सं= २०१६ साल अर्थात् सन् १९५९ मा प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भनी निर्णय गरेको वर्ष सन् १९०९ सम्ममा संसारमा नारीलाई मत दिने अधिकार केवल न्युजिल्यान्ड, अस्ट्रेलिया र फिनल्यान्ड गरी ३ देशमा मात्र थियो । न्युजिल्यान्डमा सन् १८३० मा, अस्ट्रेलियामा सन् १९०२ मा र फिनल्यान्डमा सन् १९०६ मा महिलाले मत दिने अधिकार पाएका थिए । नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्र संघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्वीजरल्यान्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको हो । नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि=सं= २००७ सालदेखि मताधिकारको अधिकार प्राप्त भएको हो । भारतले भने त्यहाँको अधिवेशनमा एक प्रस्ताव पारित गरी भारतीय राष्ट्रिय काङ्ग्रेसले नारीलाई मत दिने अधिकार दिन माग गरेकोमा त्यस बेला त्यो मागलाई घरेलु समस्या भनी पन्छाइयो र पछि सन् १९२० देखि १९२९ को बीचमा विभिन्न प्रस्ताव पारित गर्दै अन्त्यमा नारीलाई मत दिने अधिकार दिइयो । यसरी हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आइएकामा सन् १९७२ -वि=सं= २०२९) डिसेम्बर १८ का दिन संयुक्त राष्ट्र संघको साधारण सभाले एक प्रस्ताव पारित गरेर सन् १९७५ वि=सं= २०३२ साल_ लाई अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाएर संसारका सबै देशका सबै नारी पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त होउन्, उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने विश्वव्यापी मान्यता प्रदान गरिएको हो । विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय नारी दिवस र अन्तर्राष्ट्रिय नारी वर्ष मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । श्रीलड्ढामा श्रीमती सिरिमाओ बन्दरानाइके, भारतमा श्रीमती इन्दिरा गान्धी, बेलायतमा श्रीमती मार्गरेट थ्याचर, पाकिस्तानमा श्रीमती बेनजिर भुट्टो, बंगलादेशमा जियाउर रहमानकी छोरीसमेत तत्तत् देशका प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्न पुगे । नेपालमा प्रधानमन्त्री बिपी कोइरालाको प्रधानमन्त्रित्वकालमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकोमा अहिले आएर नेपालको प्रमुख राजनीतिक पद राष्ट्रपति र सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुगिसकेका छन् ।

थप