कोरोना भाइरस विरुद्धको खोप लगाउन अनिवार्य :स्वास्थ्य कार्यलय काभ्रे
काभ्रे,नेपाल सरकारले कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २३ गते देखि देशभर सुरुवात गर्दैछ । काभ्रे जिल्लामा खोप कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, शिक्षक तथा चालक र सह चालकलाई खोप लगाउने योजना बनाएको भएपनि पुनः बैठक बसी स्थानीय पालिकाहरु मार्फत ६५ वर्ष माथिका नागरिकहरुलाई खोप लगाउने योजना कार्यान्वयनमा ल्याएको छ ।
कोरोना भाइरस विरुद्धको खोप जिल्ला भरिका १ सय १४ वटा खोप केन्द्र मार्फत २५ हजार ४ सय ७५ जना लक्षित समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । देशैभरि विभिन्न स्थानमा सञ्चालित पहिलो चरणको खोप कार्यक्रमबाट गम्भीर किसिमको लक्षण देखा नपरेकोले ढुक्क भएर खोप लगाउन उहाँले आग्रह गर्नुभयो । खोप लगाएर २ दिन आराम गर्ने कि कोरोना लागेर १५/२० दिन अस्पतालमा बिताउने ? प्रमुख झाले प्रश्न गर्नुभयो । कोरोना विरुद्धको खोप लगाए पश्चात सामान्य रुपमा देखापर्ने लक्षणहरु विस्तारै कमी भएर जाने र त्यसबाट हुनसक्ने जोखिमबाट बच्न स्वास्थ्य कार्यालयको अगुवाईमा सम्भावित जोखिमलाई न्युनिकरणका लागि सुरक्षात्मक उपाय अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले बताउनुभयो ।
फागुन २३ गते देखि चैत्र १ गतेसम्म खोप लगाईसक्ने गरी कार्यकतालिका तयार गरिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । खोप लगाईसकेपछि त्यसको असर हुन नदिन वा केहि भईहालेमा तयारी अवस्थामा प्रत्येक केन्द्रमा मेडिकल डाक्टर सहितको टिम र एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताउनु भयो । खोप अभियानका लागि २ सय १० जना खोप दिने दक्ष स्वास्थ्यकर्मी परिचालन हुनेछन् भने ६ सय ३० जना स्वयंसेवक रहनेछन् । पालिकाहरुले हरेक दिन फरक फरक स्थानको स्वास्थ्य चौकीमा खोप लगाउने गरी तालिका तयार गरिएको छ ।
कोरोना भाइरस विरुद्धको खोप पश्चात विरलै रुपमा एनाफाइलेक्सिस् हुन सक्छ । यो गम्भीर प्रकारको असर हो । यसलाई एलर्जिक प्रतिक्रिया भनिन्छ । यस्तो असर देखा परेमा तत्कालै उपचार र व्यवस्थापन गरिनुपर्ने स्वास्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ । यस्तो विशेष परिस्थिती कमै मात्र हुने हुँदा विश्वस्त भएर खोप लगाउन आग्रह गरिएको छ । इन्डियाको सिरम इन्ष्टिच्युटबाट उत्पादित कोरोना विरुद्धको खोप बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाले विकास गरेको हो । यस खोपलाई विश्व स्वास्थ्य संगठनबाट आकस्मिक प्रयोगको लागि सूचिकृत गरिसकिएको कोभिडशिल्ड खोपले कोरोना भाइरस विरुद्ध शरीरमा प्रतिरोधात्मक क्षमताको विकास गर्दछ ।