बनेपा/जिल्लाबाट प्रकाशन भईरहेको काभ्रेपोस्ट साप्ताहिकले स्थापनाको २४ वर्ष पुरा गरी २५ औ वर्ष प्रारम्भ गरेको छ । सोहि अवसरमा पत्रिकाको तर्फबाट रजत महोत्सव मनाएको छ। विभिन्न समयमा पत्रिकालाई योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
स्व. विष्णुप्रसाद चौलागाईद्वारा संचालन हुँदै आएको पत्रिका हाल उहाँको श्रीमती राधिका चौलागाई, भाई दिपक चौलागाई र छोरा समिर चौलागाईको समुहले संचालन गरिरहेको छ । कोरोना भाईरसका कारण विष्णुप्रसाद चौलागाईको निधन भएको थियो । पत्रिकालाई निरन्तरता दिने र चौलागाईले पत्रिका मार्फत समाज र राष्ट्रलाई योगदान दिन गरिएका प्रतिवद्धताहरु पुरा गर्दै जाने सोहि अवसरमा जानकारी गराईएको थियो । पत्रिका प्रकाशन प्रालीका अध्यक्ष राधिका चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । बस्नेतले काउन्सिलको भूमिका, सरकारले बनाउन लागेको मिडिया काउन्सिल, बदलिँदो अवस्थामा संचारमाध्यमको भूमिका लगायतका विषयमा धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट, सचिव गोविन्द चौलागाई, राजनीतिक दलका नेताहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लाबाट प्रकाशन भईरहेका संचारमाध्यमका प्रमुख तथा प्रतिनिधि र कृयाशिल संचारकर्मीहरु लगायतको सहभागिता रहेको कार्यक्रममा कोशिपारी पत्रकारिता पुरस्कारबाट केदार तिमल्सिना र ज्योती श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै संस्थापक सम्पादक इश्वरी ओझा लगायतलाई सोहि अवसरमा सम्मान गरिएको थियो । पुर्व कर्मचारी र हाल कार्यरत कर्मचारीहरुलाई पनि पत्रिकाको स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो ।