काभ्रेमा म्यादी प्रहरीको दस दिने तालिम सम्पन्न:कार्यक्षेत्रमा खटाउने तयारी

  •   २ वर्ष अघि | ७ बैशाख २०७९, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे : स्थानीय तहको निर्वाचनको लागि सरकारले माग गरेको म्यादी प्रहरीलाई तालिम प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले म्यादी प्रहरीलाई प्रदान गरेको तालिम आज बुधबार सम्पन्न भएको हो । चैत्र २८ गतेबाट सुरु भएको तालिम आज धुलिखेलमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरिएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचन सफल बनाउन, अमर्यादित व्यवहार नगर्न, गोपनियता कायम राखी निर्वाचनलाई मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्ने नेपाली प्रहरीको योजनामा समन्वय गर्न आग्रह गरिन् ।
निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन सम्पन्न भए पछि पुरा गर्नु पर्ने जिम्मेवारीका बारेमा तालिम अवधिमा सिकाइएको प्रशिक्षण व्यवहारमा निष्पक्षका साथ कार्यान्वयन गर्न म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले अनुरोध गरे ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १३ वटा पालिकामा तोकिएका १ सय ८९ वटा मतदान स्थल र ३ सय ८१ मतदान केन्द्रका लागि ३ हजार ९३ जना सुरक्षाकर्मी खटिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार म्यादी प्रहरी १ हजार ६ सय ११, जनपथ प्रहरी ९ सय ७९, सशस्त्र ४ सय ३ जना गरी ३ हजार ९३ जना खटिएका छन् । नेपाली सेनाको नियमित गस्ती रहनेछ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले आवेदन दिएका ३ हजार १ सय ७३ जना मध्ये १ हजार १ सय ११ जना छनौट गरी तालिम प्रदान गरेको थियो । पाँचखालमा २ सय ८१, बनेपामा ३ सय २५, पनौतीमा २ सय १३, भकुन्डेमा २ सय १३, धुलिखेलमा ५ सय ८ जनालाई तालिम दिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार सरकारले तोकेको मापदण्ड अनुसार निर्वाचनमा आवश्यक पर्ने भिड नियन्त्रण, मतदाता, मतदान स्थलको सुरक्षा, मतपेटिका, मतगणना स्थलको सुरक्षाको बारेमा जानकारी गराइएको छ ।

थप