काभ्रे (बनेपा) – काभ्रे पोस्टका प्रकाशक तथा प्रधान सम्पादक विष्णु चौलागाईंको निधन भएको छ ।
५१ वर्षीय चौलागाईंको शुक्रबार बिहान ओम अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उनी गत असोज २६ गते कोरोना संक्रमित भएका थिए। कोरोना संक्रमणपछि चौलागाईंको फोक्सोमा समस्या देखिएको थियो ।
त्यसपछि उनी होम आइसोलेसन बसेका थिए। ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।
पुन पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । काभ्रे जिल्लामा करिब ४ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकारको मृत्युले काभ्रेली पत्रकारितामा एक अपूरणीय क्षति पुगेको छ ।
काभ्रे चौंरीदेउरालीमा जन्मिएका चौलागाईंका एक छोरा र एक छोरी छन् ।