राजा राजेन्द्रको पिरतिको चस्मा बजारमा

  •   ३ वर्ष अघि | २६ कार्तिक २०७७, बुधबार,    

हास्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेल स्ट्यान्डअप कमेडीका लागि माहिर मानिन्छन्। स्ट्यान्डअप कमेडीसँगै गायन पनि उनी उत्तिकै पोख्त छन्। यसैको ज्वलन्त उदाहरणस्वरूप पोखरेलले हालै पिरतीको चस्मा बोलको गीत रेकर्ड गराई त्यसको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
विभिन्न हास्य प्रस्तुतिका क्रममा अरूका गीत गाएर वाहवाही कमाउँदै आएका पोखरेल यो गीतबाट व्यावसायिक गायकभन्दा कम लाग्दैनन्। गीतको म्युजिक भिडियोमा टिकटकमा पछिल्लो समय भाइरल भएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामरिका ढकाल तथा जितु नेपालले अभिनय गरेका छन्। ढकाल दिदीबहिनीको यो पहिलो म्युजिक भिडियो हो। हालसम्म म्युजिक भिडियोमा अभिनय नगरे पनि पहिलोपटक म्युजिक भिडियोका लागि नाच्दा रमाइलो अनुभव भएको ढकाल दिदीबहिनीले बताए। भिडियोमा पछिल्लो समयमा स्ट्यान्डअप कमेडीमा अगाडि देखिएका सुमन कार्की, प्रभात लामा, प्रथम खड्कालगायतले पनि अभिनय गरेका छन्।
राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो माइकल चन्दले निर्देशन गरेका हुन्। ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको म्युजिक भिडियो विकास दाहालले सम्पादन गरेका छन्।
गीतको भिडियो राजा राजेन्द्र पोखेरलकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

थप