काठमाडौ, हाँस्यव्याग्य कलाकार जितु नेपालको आज (असार १ गते) जन्मदिन हो । दर्शकमाझ ‘मुन्द्रे’ नामले चिनिले जितु पछिल्ला वर्षहरुमा फिल्म मार्फत दर्शकको मन जितिरहेका छन् । दिपकराज गिरीको समुहले निर्माण गरिरहेका फिल्महरुमा नेपाल मुख्य कलाकार र निर्माता सहित स्क्रिप्टमा समेत सहभागी भैरहेका छन् ।जितुको जन्मदिनमा सहकर्मी दिपकराजले फेसबुकमा लामो स्टाटस लेखेर शुभेच्छा व्यक्त गरेका छन् । दिपकराज गिरीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘संघर्षको त्यो कठोर दिनमा एउटै थालमा बाँडेर खायौं । किनकी टन्न खान पैसा पनि हुँदैनथ्यो । दिनभर रेडियो, टेलिभिजन, डाइरेक्टरका घर घरमा जानु पर्थो । राति सुत्ने निश्चित ठाँउ थिएन त्यसैले तपाइको दाइको घर हाम्रो शरणार्थी शिविर थियो । पैसा हुँदा लजमा, नत्र कहिले कहाँ, कहिले कहाँ…?
संघर्षको त्यो दिनदेखि आजसम्म पनि हाम्रो मित्रता, सहकार्य चलि रहेको छ । यो एक प्रकारको दुर्लभ मित्रता हो । सायद यो ईश्वरको आशिर्वाद नै हो ।
तपाइको प्रगतिको ग्राफ मेरो भन्दा धेरै अग्लो छ । प्रेरणादायी छ । सकारात्मक इखले मान्छेलाई मान्छे बनाउँछ भन्ने उदाहरण हो तपाई ।
धेरै पल्ट, धेरैले, धेरै ठाउँबाट तपाइलाई अपमानित गरे तपाइले बिचलित नभई त्यसलाई इख को रूपमा लिएर हरेक दिन आफूलाई तयार गर्दै जानु भो र त्यसको नतीजा आज हामी सबैको अगाडि छ ।
सिन्धुपाल्चोक जिल्लाको बिकट गाउँको बिपन्न परिवारको एक सामान्य व्यक्ति आज राष्ट्रको होनहार कलाकार भएको छ । स्टेज शो हरूमा जो कोही तपाइका अगाडि टिक्न सक्दैनन् । मनोरन्जन को दुनियाँका बारेमा केहि लेख्दा तपाइको नाम छुट्नै सक्दैन ।