बनेपा/ नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाले पत्रकारको योजनाबद्ध हत्या, सञ्चारगृह तथा पत्रकारमाथि भएका आक्रमण र आगजनीको विरोध गर्दै काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आह्वानमा मंगलबार महासङ्घ काभ्रे शाखाका अध्यक्ष विनोद कुमार न्यौपानेको टोलीले काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सो पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अुसन्धान, गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले पत्रकारको सुरक्षालाई गम्भीरताका साथ लिने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार महासङ्घ काभ्रेले पछिल्लो समय पत्रकार तथा सञ्चारगृहमाथि भएका आक्रमणको भर्सना गर्दै यस्ता घटना दोहोरिन नदिन राज्य जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ । साथै सातादिनभित्र माग सम्बोधन नभए सरकार विरुद्ध देशव्यापी आन्दोलनमा गर्ने महासंघले जनाएको छ ।
शुक्रबार काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पुर्याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गामुढा गरी क्षति पुर्याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो ।