बैशाख ३० काठमाण्डौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।
उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको छ ।
चैत ११ गतेबाट लकडाउन थालिएपछि देशभर एक जिल्लाबाट अर्को जिल्लाका लागि सबारी चलाउन सयौं पास जारी भएका छन् ।
यस्तै सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयका सचिव र बैंकरवित्तीय संस्थालगायत क्षेत्रका कर्मचारीलाई नियामक निकायबाट जारी गरिएका छुट्टै पास लिएर मात्रै हिँडडुल गर्न दिन प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको सहप्रवक्ता अधिकारीले बताए । पत्रकारले भने सुचना विभागको पासमा आधारमा हिडडुल गर्न पाउनेछन् ।