पत्रकार र उद्योग व्यवसायीहरु बिच मैत्रीपूर्ण फुटसल सम्पन्न

  •   २ वर्ष अघि | १६ कार्तिक २०७८, मङ्लबार,    

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रेले आयोजना गरेको बिजया दशमी , शुभ दिपावली तथा नेपाल संवत एवं छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम २०७८ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । काभ्रे उद्योग वाणिज्य संघ बनेपाको समन्वयमा तथा नेपाल पत्रकार महासंघ काभ्रेको आयोजनामा आज (मंगलबार) बनेपाको पञ्चकन्या बैंक्वेटमा शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
लोकतन्त्रलाई सुदृढ तथा बलियो बनाउनको सथै संविधानको रक्षा गर्न प्रेस जगत बलियो बन्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले बताए । संविधानको संरक्षण गर्नको निम्ति महासंघले विगत लामो समयदेखि रचनात्मक भूमिका निर्वाह गरेको उपाध्यक्ष विष्टले बताए ।
कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रेस युनियन काभ्रेका उपाध्यक्ष तथा काभ्रे पत्रकार महासंघका पूर्व अध्यक्ष ईश्वरी ओझा, प्रेस चैतारीका केन्द्रीय महासचिव हिरामान लामा, काभ्रे उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष राजेन्द्र पसछे र महासचिव रविन्द्र वैदार, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिनाले शुभकामना मन्तव्य राखेका थिए ।
पत्रकार र उद्योगी व्यवसायीबिचको सम्बन्ध सुमधुर बन्नुपर्छ भन्ने सन्देश दिनका लागि व्यवासायीबिच भएको मैत्रीपूर्ण फुटसल खेलका बिजयी पत्रकारलाई ट्रफी र कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा स्वास्थ कार्यालय काभ्रेका प्रमुख रहेका डा. नरेन्द्र कुमार झालाई सरुवा भएर जान लागेकोमा सम्मान सहित बिदाइ गरिएको थियो ।
काभ्रेमा कार्यालय प्रमुख भएर रहदाँ कोभिडको पहिलो र दोस्रो चरणमा समग्र जिल्लावासीहरुको स्वास्थ्यसँग सरोकार राखेर कोरोनाबाट बच्नको लागि डा. झाले खेलेको रचनात्मक भूमिका तथा पत्रकार महासंघलाई सूचना सम्प्रेषणमा समन्वय गर्नुको साथै पहिलो र दोस्रो खोपको व्यवस्थापनमा सहजीकरण तथा उनको उल्लेखनीयका कार्यको कदर स्वरुप महासंघले सम्मान बिदाइ गरेको महासंघका अध्यक्ष बद्रीराज तिमल्सिनाले बताए । उनका अनुसार यसै कार्यक्रममार्फत जिल्लामा स्वास्थ कार्यालय प्रमुख भएर आउन लागेका डा. पुरुषोत्तमराज सेढाँइलाई पनि स्वागत गरिएको थियो ।
लामो समयदेखि साना उद्योग तथा कल कारखानाको अनुगमन तथा व्यवस्थापनमा सक्रिय भएर लागेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ५८ वर्षको उमेरमा केशव पुडासैनीले अवकाश प्राप्त गरेका छन् । पुडासैनीले गरेको उल्लेखनीय कार्यको कदर गर्दै उनलाई पनि कार्यक्रममा पनि सम्मान गरिएको महासंघका अध्यक्ष तिमल्सिनाले बताए ।
 
 

थप